
गैर आवासीय नेपाली संघ एनआरएनएले एकता कायम राख्न सबैलाई अपिल गरेको छ । सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले गराएको अधिवेशनबाट महेश कुमार श्रेष्ठको नेतृत्वमा निर्विरोध निर्वाचित कार्यसमितिले काम सुरु गरि सकेको बताउँदै एकता महाधिवेशनको मूल मर्म अनुसार नै अघि बढ्न सबैलाई अपिल गरेको हो ।
एनआरएनएका नव निर्वाचित महासचिव बाबुराम (बीआर) लामाले मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै सबै पक्षलाई समेट्न पहिलो बैठकबाटै वार्ताको पहल थालेको उल्लेख गरेका छन् । उनले एक समूहले एनआरएनएको नाममा १४ मे २०२५ (बुधवार) मा ‘एनआरएनए कन्क्लेभ’ नामक कार्यक्रम आयोजना गर्ने तयारी गरेको कुरा सञ्चारमाध्यममार्फत जानकारीमा आएको बताउँदै उक्त कार्यक्रममा वर्तमान आइसीसीको कुनै पनि संलग्नता नरहेको प्रष्ट पारेका छन् ।
श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई कार्य गर्न रोक लगाउन माग गर्दै दायर गरिएको रिट निवेदनमा सुनुवाइपश्चात् सम्मानित सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको र यो निर्णयले श्रेष्ठ नेतृत्वको कार्यसमिति वैधानिक र अधिकृत रहेको स्पष्ट भएको पनि लामाले उल्लेख गरेका छन् ।
विश्वभर छरिएर रहेका लाखौँ गैर आवासीय नेपालीहरूको भावनाको सम्मान गर्दै, एकता र सद्भाव कायम राख्न सबै पक्षलाई सहयोग र समर्थन गर्न महासचिव लामाले अपिल पनि गरेका छन् ।










Facebook Comments