
काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले सरकारसँग नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तलब र सुविधा वृद्धिको माग गरेका छन् ।
उनले वैदेशिक रोजगारीको बाध्यात्मक स्थितिको अन्त्यका लागि आन्तरिक रोजगारीको आकर्षण बढाउन तलब वृद्धि आवश्यक रहेको धारणा राखे ।
छलफलका क्रममा आम जनता पार्टीका सांसद प्रभु साहले वैधानिक बाटोबाट विप्रेषण भित्र्यान सहजीकरण गर्न सरकारको ध्यानार्कषण गराए ।
नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले संरक्षित वन, जंगललाई आम्दानीको स्रोत बनाउनुपर्ने सुझाव दिए । उनले प्राकृतिक स्रोतसाधनको अधिकतम सदुपयोग गर्नपर्नेमा जोड दिए । ‘जंगल संरक्षण गर्न झण्डै ३० अर्ब खर्च गर्छौं । त्यसबाट हाम्रो आम्दानी कति हुन्छ ?’, सांसद साहले प्रश्न गरे ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले आमनागरिकमा आएको निराशा अन्त्य गर्दै रोजगारी, शिक्षा, सहज स्वास्थ्य, कृषि, पर्यटनलगायत विषय केन्द्रमा राखेर आगामी आवको बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए ।









Facebook Comments