
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले केही समय लाग्नसक्ने तर अन्ततः नेतृत्व नयाँ पुस्तामै जाने बताए । उनले मुलुकमा थुप्रै कामहरु गर्न बाँकी रहेको बताए ।
उनले धेरै गर्नुपर्नेछ सकिँदैन भन्ने सोच राखेर पलायन हुनुभन्दा अरुले गरेनन् म गर्छु भन्ने भावनासहित अघि बढ्न आवश्यक रहेको बताए । उनले समस्या सबैलाई थाहा भएपनि त्यसको समाधान पहिचान गर्न नसकेको बताए ।
उनले त्यसैले अबको युवा पुस्ताले समस्या र त्यसको समाधानसहित राजनीतिमा आउनुपर्ने उल्लेख गरे ।
मन्त्री पौडेलले भने,‘राजनीतिको नेतृत्व पछिल्लो पुस्ताले नै लिन्छ । केही समय लाग्नसक्छ । अफ्ठ्याराहरु हुनसक्छन् । अन्ततः नेतृत्व नयाँ विषयहरु ल्याउनेहरुकै पक्षमा जान्छ । नयाँ विषय ल्याउनेहरुकै आकर्षण बढेर जान्छ । तर म उमेरले कान्छो हुँ, मैले नेतृत्व पाउनुपर्छ भनेर प्राप्त हुँदैन ।’
मन्त्री पौडेलले विद्यार्थी संगठनहरुबीचमा एकता कायम गरेर अघि बढ्न सक्नुपर्ने बताए ।
साझा मुद्दा पहिचान गरेर त्यस आधारमा अघि अघि बढ्नसक्ने स्थिति भए विद्यार्थी आन्दोलनले अहिले पनि राज्यमाथि हस्तक्षेप गर्नसक्ने बताए ।









Facebook Comments