सोमबार युरोपका थुप्रै देशमा आकस्मिक ब्ल्याकआउट भएको खबर आएको छ।

ad

स्पेन, पोर्चुगल र फ्रान्सका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ। स्थानीय मिडियाका अनुसार यो ब्ल्याकआउटले महत्वपूर्ण पूर्वाधारमा गम्भीर असर पु‍र्‍याएको छ। विद्युत् कटौतीका कारण हवाई उडान, मेट्रो सेवा र यातायात प्रणाली अवरुद्ध भएका छन्।

म्याड्रिडदेखि लिस्बनसम्मको ठूलो जनसंख्या अन्धकारमा डुबेको छ, जसले सर्वसाधारणलाई ठूलो सास्ती परेको छ। आपतकालीन अवस्था सामना गर्न तत्काल प्रोटोकलहरू लागू गरिएको जनाइएको छ। ब्ल्याकआउटको कारणबारे अनुसन्धान भइरहेको छ, र यसलाई साइबर आक्रमण हुन सक्ने आशंका गरिएको छ।

प्रभावित सहरहरूमा म्याड्रिड, बार्सिलोना, लिस्बन, सेभिल, र पोर्टोजस्ता प्रमुख औद्योगिक केन्द्रहरू परेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार विद्युत् कटौतीले रेल स्टेशन, विमानस्थल र अन्य सेवाहरूमा समेत गम्भीर असर परेको छ।

स्पेनको ट्राफिक प्राधिकरण डिजिटी ले नागरिकहरूलाई अत्यावश्यक नभएसम्म सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ। ट्राफिक बत्तीहरू बन्द हुँदा सडकहरूमा अराजक स्थिति सिर्जना भएको छ भने मेट्रो सेवाहरू पूर्णतः अवरुद्ध छन्। अस्पतालहरूमा ब्याकअप जेनेरेटरमार्फत अत्यावश्यक सेवा सञ्चालन भइरहेको छ, तर अधिकारीहरूले ऊर्जा बचतका उपायहरू अपनाउन निर्देशन दिएका छन्।

स्पेन सरकारले संकट व्यवस्थापन समिति गठन गरी अवस्थालाई नियन्त्रणमा ल्याउने प्रयास थालेको छ। रेडियो स्टेशन क्याडेना सेर ले रिपोर्ट गरेको अनुसार म्याड्रिड सिटी सेन्टरमा ट्राफिक बत्ती नचल्दा भीषण जाम भएको छ।

स्पेनी पावर ग्रिड अपरेटर ‘रेड इलेक्ट्रिका’ ले ब्ल्याकआउटको पुष्टि गर्दै यसले सिङ्गो देशलाई असर पुर्‍याएको बताएको छ। कम्पनीले ट्विटरमा लेखेको छ, “ब्याकअप योजना तयार गरिएको छ, यो समस्या युरोपव्यापी हो। देशभर विद्युत् पुनःस्थापनाको प्रयास तीव्र गतिमा भइरहेको छ।”

उता, पोर्चुगलको ग्रिड अपरेटर ‘इ-रेडिज’ ले पनि युरोपेली पावर ग्रिडमै समस्या देखिएको कारण यस्तो संकट उत्पन्न भएको जनाएको छ। रेड इलेक्ट्रिकाले देशको उत्तरी र दक्षिणी क्षेत्रमा पुनःस्थापना प्रक्रिया सुरु भएको जानकारी दिएको छ।

यस ब्ल्याकआउटको असर म्याड्रिड ओपन टेनिस प्रतियोगितामा पनि परेको छ। विद्युत् चुहावटका कारण खेल बिचमै रोक्नु परेको थियो। बेलायती खेलाडी ज्याकब फर्नेलगायत अन्य खेलाडीहरू कोर्टबाट बाहिरिएका थिए। स्कोरबोर्ड र क्यामेरा बन्द हुँदा प्रसारण समेत रोकिएको थियो।

स्पेनी सार्वजनिक प्रसारण संस्था आरटिभीई ले दिउँसो १२:३० बजेपछि देशका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको जनाएको छ। न्यूजरूम, म्याड्रिडको संसद भवन र देशभरका मेट्रो स्टेशनहरू अन्धकारमा डुबेका थिए।