
काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका–२ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् ।
छिमेकी ढोडा मुखिया विनको ०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका तेलीलाई भारतको बिहार राज्यको चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरको पुजारीका रुपमा १० वर्षदेखि साधुको भेष धारणा गरी लुकिछिपी रहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
हत्यापश्चात् फरार भएका तेलीलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार पर्साको वीरगञ्जबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
तेलीलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत पर्सामा पेस गरिएको ब्युरोका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।










Facebook Comments