काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् ।
हिजो सोमबार सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूबिच भएको छलफलमा प्रचण्डले आजको बैठकमा सम्बोधन गर्ने सहमति भएको थियो । तर पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले संसदमा आज सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित हुने भएका छन् । ओली आजै कोशी प्रदेश सभामा सम्बोधन गर्न विराटनगर जाने भएपछि अनुपस्थित हुने भएका हुन् । यसअघि गत माघ २४ गते प्रचण्डले संसदमा सम्बोधन गरेका थिए ।

उक्त दिनपनि प्रम ओली संसदमा अनुपस्थित रहेपछि प्रचण्डले गुनासो गरेका थिए । यसैबीच आमसञ्चार विधेयकमाथि दफावार छलफल संसदीय समितिमा हुने भएको छ । आजको प्रतिनिधि सभाले यो विधेयकमाथि दफावार छलफल गर्न संसदीय विषयगत समितिमा पठाउने कार्यसूची छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आमसञ्चार विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यसका अलावा प्रतिनिधि सभामा उपभोक्ता अदालत गठनको सूचना संसदमा टेबुल गर्ने कार्यक्रम छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालत गठन सम्बन्धी सूचना टेबुल कार्य सम्भावित कार्यसूची छ । मंगलबार मोन्ट्रियल प्रोटोकल किगाली संशोधन संसदले अनुमोदन गर्ने कार्यक्रम पनि छ ।

ad