काठमाडौं । राष्ट्र बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको आउँदो चैत २५ मा कार्यकाल सकिदै गर्दा सरकारले केन्द्रीय बैंकको १८औँ गभर्नर छान्न अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति बनाउनका लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिएसँगै भावी गर्भनरका लागि ‘लिगलिगे’ दौड सुरु भएको छ । दौडमा सम्भावित दाबेदारहरू शक्तिकेन्द्रमार्फत नेताहरूको घरदैलोमा धाउन थालेका छन् । सो दौडमा वर्तमान गभर्नर अधिकारीसमेत रहेको राष्ट्र बैंकको एक उच्च स्रोतले देशान्तरलाई बतायो ।

ad


नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति गठन हुने व्यवस्था छ । समितिमा पूर्वगभर्नरमध्येबाट एक, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट सरकारले तोकेको एकजना व्यक्ति सदस्य रहनेछन् । तीन सदस्यीय समितिले तीनजनाको नाम सिफारिस गर्नेछ । जसमा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने व्यवस्था छ । यो व्यवस्थाका कारण बमबहादुर मिश्र वा नीलम ढुंगाना तिम्सिनाको नाम सिफारिस सूचीमा पर्ने पक्का छ । अथवा दुवै डेपुटी गभर्नर पनि सिफारिसमा पर्न सक्छन् तर पछिल्ला उदाहारण हेर्ने हो भने सत्तापक्ष र त्यसमा पनि प्रधानमन्त्री जुन राजनीतिक दलका हुन् सोही दलबाहेकका व्यक्ति गभर्नर बनेका छैनन् ।


डेपुटी गभर्नर मिश्र प्रधानमन्त्री केपी ओलीका छिमेकी र नेकपा एमाले निकटसमेत भएकाले उनी गभर्नरको बलियो दाबेदार हुन् । डेपुटी गभर्नर ढुंगाना पनि एमाले नेतृत्वहरूको निकटमा छिन् । प्रधानमन्त्री ओली महिलालाई नेतृत्वमा लैजानुपर्छ भन्नेमा उदार रहेकाले ढुंगानालाई पनि गभर्नरका लागि शक्तिशाली दाबेदारका रूपमा हेरिएको छ । राष्ट्र बैंककै पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटी गभर्नरका बलिया दाबेदार हुन् ।

यस्तै पूर्वअर्थसचिव रामेश्वर खनाल पनि गभर्नरको लाइनमा छन् । केन्द्रीय बैंकका पूर्वकार्यकारी निर्देशक राजनसिंह भण्डारी पूर्वराजस्व सचिव लालशंकर घिमिरे राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक रवीन्द्र पाण्डे राष्ट्र बैंकका दुई कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ र डा. गुणाकर भट्ट हालैमात्र सेवा निवृत्त भएका कार्यकारी निर्देशक देवकुमार ढकाल, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र प्रभु बैंकका सीईओ अशोक शेरचन पूर्व बैंकर किरण कुमार श्रेष्ठ , लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी सुशील भट्ट र पूर्वसचिव केशव भट्टराई पनि गभर्नरका आकांक्षी हुन् ।


आंकाक्षीहरूमध्ये कसलाई गभर्नर बनाउने भन्ने सत्तारुढ दुईदलको सहमतिमा हुने भए पनि सत्तारुढ दल कांग्रेसले गभर्नर एमालेलाई छोड्न सक्ने श्रोतले बताएको छ । श्रोतका अनुसार गभर्नर एमालेलाई छोडेर रिक्त हुन लागेको निर्वाचन आयोगको प्रमुख आयुक्तमा आफ्नो सिफारिसको प्रमुख आयुक्त बनाउनेतर्फ कांग्रेसको रुचि रहेको छ । कथंकदाचित गभर्नर सिफारिस गर्नुपर्ने भएमा भने कांग्रेसले ज्ञानेन्द्र ढुंगाना, राजनसिंह भण्डारी, डा. गुणाकर भट्ट र रवीन्द्र पाण्डेमध्ये एकलाई सिफारिस गर्ने सम्भावना छ ।