काठमाडौं । अर्धसैन्य दस्ताको रूपमा माओवादी विद्रोहकालमा स्थापित सशस्त्र प्रहरी बलमा वरीयता मिचेर डिआइजीमा बढुवा गरिएको छ । रिक्त रहेका तीन पदमा दुईजना जुनियरलाई बढुवा गरिएको हो । बिहीबार बसेको गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णु भट्टको बढुवा सिफारिस गरेको हो । सिनियर रहेका कृष्णराज पाठक र मनीष थापा बढुवामा छुटेका छन् ।


बढुवा भएका कुँवर र भट्ट सशस्त्र प्रहरीको दोस्रो ब्याचका अधिकृत हुन् । स्टाफ कलेज गरेका पहिलो ब्याचका मनीष थापा बढुवामा यसपटक पनि छुटेका छन् । त्यस्तै, नेपाल प्रहरीबाट स्थानान्तरण भएका पाठक पनि छुटेका छन् ।
बढुवा भएका कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका भजितीज्वाइँ हुन् । उनकै कारण रिक्त पदमा लामो समयदेखि बढुवा हुन सकेको थिएन । यसप्रकारको बढुवा प्रक्रियाले प्रहरी संगठनभित्र गम्भीर असन्तुष्टि सिर्जना गरेको छ । वरीयता मिच्दा संगठनभित्र अनुशासन र मर्यादामा असर पर्ने बताइएको छ । यसअघि पनि प्रहरी र सशस्त्र प्रहरी संगठनमा बढुवाका क्रममा विवाद उत्पन्न हुने गरेको थियो ।

ad

प्रहरी संगठनमा वरिष्ठता र योग्यताको आधारमा बढुवा गर्नुपर्ने परम्परा भए पनि पछिल्लोपटक राजनीतिक हस्तक्षेपको कारण योग्य अधिकृतहरू बढुवाबाट वञ्चित भएका छन् । प्रहरी बलमा बढुवा प्रक्रियालाई लिएर विगतमा पनि अदालतमा मुद्दा पर्ने गरेका उदाहरणहरू छन् । सिनियर अधिकृतहरू बढुवाबाट छुटेपछि संगठनभित्र मनोबल गिरेको र यसले भविष्यमा प्रभाव पार्ने अनुमान गरिएको छ ।