काठमाडौं । नेपालको राजनीतिमा सदैव प्रभावकारी शक्तिको रूपमा रहेको दक्षिणी छिमेकी मुलुक भारत पछिल्लो समय नेपालको सत्ता समीकरण फेरबदलपछि भने दुई देशबीचको सम्बन्धमा सौहार्दपूर्ण नरहेको कूटनीतिक वृत्तमा चर्चा छ । असार १७ मा संसद्मा दुई ठूला दल नेपाली कांग्र्रेस र नेकपा एमाले मिलेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएपछि कैयौँ प्रयास गर्दा पनि भारतले अहिलेसम्म भ्रमणको निम्तो पनि दिएको छैन । नयाँ सरकार बन्नासाथ परराष्ट्रमन्त्रीको हैसियतमा डा. आरजु राणा देउवाले भारतको भ्रमण गर्दा राम्रो रेस्पोन्स गरे पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणपछि भारत नराम्रोसँग चिढिएको छ ।


विगतदेखि नै भारतप्रति खरो टिप्पणी गर्दै आएका ओलीले पहिलो विदेश भ्रमण चीन गरेर त्यसको सन्देश दिइसकेका छन् । यसैगरी चुच्चे नक्साको विषय सुल्झिएको छैन भने इपीजी प्रतिवेदनबारे पनि ओलीको टिप्पणीप्रति भारत असन्तुष्ट रहेको छ । ओलीसँग रिसाएको भारत अहिले संसदको ठूलो दल नेपाली कांग्रेससँग पनि असन्तुष्ट बनेको रूपमा अर्थ लगाइएको छ ।
यसैको पछिल्लो पुष्टि हो, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगन । सभापति देउवाको भारत भ्रमण उड्नुभन्दा केही घण्टाअघि स्थगन भएको हो । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा पनि जाने र इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘विकास र दिगोपनमा कुम्भ ग्लोबल समिट’मा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । उक्त कार्यक्रममा भारतीय जनता पार्टी (बीजेपी)निकट संस्था इन्डिया फाउन्डेशनको प्रमुख भूमिका रहेको थियो । कांग्रेस स्रोतका अनुसार भारतीय दूतावासले नै भ्रमण रोक्न आग्रह गरेपछि देउवाले यात्रा स्थगित गरेको उनी निकट स्रोतले देशान्तरलाई बतायो ।

ad


देउवाको भ्रमण स्थगित गर्न महाकुम्भ मेलामा जम्मा हुने ठूलो भीडलाई कारण बनाए पनि राजनीतिक पृष्ठभूमि लुकेको संकेत गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने तीव्र चाहनामा रहेका देउवाको अपेक्षा पूरा नहुने भएपछि पनि भ्रमण स्थगन गरिएको बताइएको छ । भारतीय पक्षले देउवासँग प्रधानमन्त्री मोदीको भेटघाटको चाँजोपाँजो नमिलेपछि आफैँ भ्रमण नगर्ने निर्णय गरेको बुझिएको छ । यसअघि, देउवा प्रधानमन्त्री भएका बेला भारतसँग निकट सम्बन्ध कायम गर्ने प्रयासमा थिए । तर, हाल नेपालमा बदलिएको राजनीतिक परिस्थिति र भारत–नेपाल सम्बन्धका नयाँ समीकरणका कारण उनको भ्रमण भारतलाई त्यति प्राथमिकतामा नपरेको देखिएको छ ।


ग्लोबल समिटमा देउवासँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित विभिन्न देशका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । इन्डिया फाउन्डेसनले आफ्नो वेबसाइट र सामाजिक सञ्जालमार्फत उक्त कार्यक्रमको व्यापक प्रचार–प्रसार गरिसकेको थियो । तर, अन्तिम समयमा आएर नेपाल–भारत सम्बन्धका केही संवेदनशील कारणले भ्रमण स्थगित गर्नु परेको अनुमान गरिएको छ । हालैका दिनमा भारतले नेपालप्रति लिएको कूटनीतिक नीतिमा परिवर्तन देखिँदै आएको छ । नेपालमा सत्ता समीकरण फेरबदल भएसँगै भारतले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति पनि असन्तुष्टि जनाइरहेको चर्चा चलिरहेको छ । अब कांग्रेससँग पनि भारत असन्तुष्ट भएको संकेत देउवाको भ्रमण स्थगनले देखाएको छ ।