उच्चशिक्षा अध्ययनका लागि ठूलो धनराशि खर्च गरेर विदेशिने विद्यार्थीहरूमा जोखिम पनि उत्तिकै रहेको हालै एक भारतीय विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र नेपाली विद्यार्थीमाथि त्यस विश्वविद्यालयमा भएको ज्यादतिले पुष्टि गरेको छ । यसबाट पाठ सिकेर विदेशिएका नेपाली विद्यार्थीहरूको सुरक्षा र व्यवस्थापनमा सरकारले गम्भीर पहल गर्नु त जरुरी नै छ, साथै स्वदेशमै स्तरीय निजी विश्वविद्यालयहरू खोल्न सके यस्ता जोखिमबाट मुक्ति त पाइने नै साथै शिक्षाको लागि विदेशिने ठूलो धनराशि स्वदेशमै रहेर जोगिनुको साथै राष्ट्रको समुन्नतिमा योगदान पुग्नेछ ।

ad

भारतको उडिसास्थित कालिंगा इन्स्चिट्युड अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयलमा अध्ययनरत बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको शंकास्पद मृत्युपछि भएको घटनाले सबैलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ । अघिल्लो साताको आइतबार प्रकृति लम्साल कलेजको होस्टलमै मृत भेटिएकी थिइन् । प्रकृतिको मानसिक यातनाका कारण मृत्यु भएको भन्दै सोही कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरूले छानबिन गर्न माग गर्दै आन्दोलन चर्काएपछि विश्वविद्यालय प्रशासनले न्याय दिलाउनुको साटो उल्टै नेपाली विद्यार्थीहरूमाथि दमन र दुव्र्यवहार गर्नु चरम अत्याचार हो । जसले गर्दा सयौँको संख्यामा रहेका नेपाली विद्यार्थीहरू नेपाल फर्किएका छन् । प्रकृतिको मृत्यु प्रकरणको विषयमा आवाज उठाउँदा अन्य नेपाली विद्यार्थीमाथि विश्वविद्यालयले दमन गरेर शैक्षिक संस्थाको साखलाई गिराएको छ ।

प्रकृतिले एक भारतीय विद्यार्थीले आफूमाथि मानसिक हिंसा गरेको भन्दै विश्वविद्यालयको विदेश मामिला कार्यालयमा उजुरी दिँदा पनि विश्वविद्यालय प्रशासनले त्यसको बेवास्ता गरेकोे थियो । प्रकृतिको उजुरीमा विश्वविद्यालयले संवेदनशील भएर ठोस कदम नचाल्दा प्रकृतिको मृत्यु भएको देखिएको छ । यस घटनाको सत्यतत्य छानबिन गरी दोषीमाथि कडा कारबाहीका लागि नेपाल सरकारले पहल गर्नुपर्छ । भारतमा नेपाली विद्यार्थीहरूमाथि भएको जस्तै घटना विदेशमा पढ्ने अन्य विद्यार्थीहरूमाथि पनि नहोस् भनेर सरकार चनाखो हुनुपर्ने देखिन्छ ।

प्रकृति प्रकरणले विदेशमा पढिरहेका नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्नका लागि सरकारले तयारी गर्नुपर्ने पाठ सिकाएको छ । अब प्रकृति प्रकरणबाट पाठ सिक्दै भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिनका लागि नेपालका शैक्षिक संस्थाप्रतिको विश्वासलाई थप बलियो बनाउनुपर्छ । भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्न नेपाल सरकारले शैक्षिक सुधारका लागि प्रभावकारी कदम चाल्नुपर्छ । नेपालका विश्वविद्यालयहरूले अहिले कम लागतमा गुणस्तरीय शिक्षा दिइरहेको भए पनि विद्यार्थीहरू किन विदेशिन बाध्य भइरहेका छन् ? यसको कारणको खोजी पनि हुनुपर्छ ।


उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीहरूको चाप पछिल्लो पटक ह्वात्तै बढेको मात्र छैन, बर्सेनि नेपालबाट बाहिरिने रकम पनि बढ्दै गएको छ । भारतबाहेक अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान लगायत विभिन्न देशमा पढ्न जाने विद्यार्थीहरूका लागि आवश्यक पर्ने अध्ययन अनुमति पत्र नो अब्जेक्सन लेटर(एनओसी) लिनेको चाप पछिल्लो समय निकै बढेको छ । नेपालमै गुणस्तरीय पठनपाठन हुने शिक्षणसंस्थाहरू प्रशस्तै भए पनि विद्यार्थीहरू अध्ययनका लागि भनेर विदेश जाने गरेका छन् । पछिल्लो समय भारतमा मात्र करिब १५ हजार नेपाली विद्यार्थी अध्ययनरत रहेको अनौपचारिक तथ्यांक छ । तर भारतमा पढ्न जानका लागि वैदेशिक अध्ययन अनुमतिपत्र अनिवार्य आवश्यकता नपर्ने भएका कारण कुन शैक्षिक संस्थामा कति विद्यार्थी अध्ययन गरिरहेका छन् भन्ने यकिन तथ्यांक भने छैन ।

विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्न पठाउँदा आर्थिक र शैक्षिक विषयसँगै व्यावहारिक पक्षमा पनि उचित परामर्श दिनु जरुरी छ । नेपालमा थुप्रै विश्वविद्यालयहरू छन्, यहाँका विश्वविद्यालयहरूका पढाइ पनि गुणस्तरीय छन् । कतिपय नेपालका विश्वविद्यालयमा त विदेशी विद्यार्थीहरू समेत पठनपाठन गर्दै आएका छन् । तर नेपाली विद्यार्थीहरू भने स्तरीय पढाइ हुने आशामा विदेशमा पढ्न जाने प्रवृत्ति देखिएको छ, यसलाई रोक्न सरकारले शैक्षिक सुधारका लागि प्रभावकारी कदम चाल्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो ।