
देशकै पुरानो तथा ठूलो सरकारी अस्पताल वीर अस्पतालमा भ्रष्टाचार र अनियमितताको जालो फैलिएको खुलासा भएको छ। दुई कर्मचारी, नवराज धिताल र बैकुण्ठ लुइँटेल, अस्पतालका विभिन्न विभागहरूमा अनियमितता गर्दै आएको आरोप लागेको छ।
पाँच वर्षदेखि मेडिकल स्टोरमा कार्यरत नवराज धिताल अस्पतालको नियम, स्वास्थ्य सेवा ऐन र अख्तियारको कानुनअनुसार अयोग्य भए पनि राजनीतिक दबाबका कारण अस्पतालमा टिकिरहेका छन्।
धितालले वीर अस्पताल सहकारीको रु ३५ लाखभन्दा बढी अपचलन गरेको आरोप छ। उनी मेडिकल स्टोरमा निःशुल्क प्राप्त औषधि र सामग्रीको बिल बनाई कमिसन खानुका साथै मौज्दात खर्च बढी देखाई ठगी गर्ने गरेको पाइएको छ।
व्यापारीहरूका अनुसार धितालले व्यापारीहरूबाट मासिक कमिसन असुल्ने, अस्पतालका कर्मचारी भर्नामा प्रभाव पार्ने र मेडिकल सामग्री खरिदमा अनियमितता गर्ने गरेका छन्। केही समयअघि रु १० लाखको सर्जिकल ग्लोब्स स्टोरमा गाडिमा आए पनि पछि सामान गायब बनाएको आरोप उनीमाथि लागेको छ।
वीर अस्पतालका जनरल स्टोर प्रमुख बैकुण्ठ लुइँटेल सेवा प्रवेशका लागि आवश्यक शैक्षिक योग्यता तथा तालिमबिना नक्कली प्रमाणपत्रका आधारमा स्थायी नियुक्ति पाएको अस्पताल प्रशासन स्रोतले जनाएको छ।
लुइँटेलले फर्निचर, सरसफाइ सामग्री, कागज, कार्पेट, पर्दा खरिदमा गुणस्तरहीन सामान मगाई करोडौं अनियमितता गरेको पाइएको छ। व्यापारीहरूले उनी स्टोरका सामान खरिदमा ६ वर्षदेखि व्यापक घोटाला गरिरहेको बताएका छन्।
उनलाई अस्पतालका कर्मचारी नियुक्तिमा आर्थिक लेनदेन, व्यापारी तथा लेखा विभागका कर्मचारीलाई धम्काएर मासिक कमिसन लिने, सहकारी कोषमा ठगी गर्ने लगायतका आरोप लागेका छन्।
धिताल र लुइँटेलले वीर अस्पतालका क्यान्टिन, सुरक्षा गार्ड (के-फोर्स) तथा सरसफाइ टेन्डर स्वीकृत गराउन झन्डै रु १ करोड ६५ लाखभन्दा बढी घूस लिएको चर्चा अस्पतालभित्र व्यापक छ।
व्यापारीहरूका अनुसार यी दुई कर्मचारीले आफ्ना निकट व्यक्तिलाई वीर अस्पतालको निर्देशक बनाउन शक्ति केन्द्रमा करोडौं बुझाउने धन्दा चलाइरहेका छन्। व्यापारीहरूले भुक्तानी तथा ठेक्कापट्टाको नाममा धम्क्याएर करोडौं रकम उठाइरहेको आरोप लगाएका छन्।
राष्ट्रिय सतर्कता केन्द्रले यी दुवैमाथि कोभिड कालमा अक्सिजन खरिद, क्वारेन्टाइन खर्च, उपकरण खरिद, मेडिसिन खरिदमा अनियमितता गरेको, सहकारी ठगी तथा स्टोर घोटाला गरेको जस्ता आरोपमा छानबिन अघि बढाएको छ।
अस्पतालभित्र कार्यरत महिला कर्मचारीहरूले पनि असुरक्षित भएको बताउने गरेका छन् ।
अस्पतालका कर्मचारी तथा व्यापारीहरूले सरकार र सम्बन्धित निकायलाई यी भ्रष्ट कर्मचारीहरूमाथि तत्काल कारबाही गर्न माग गरेका छन्।







Facebook Comments