काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले सदनमा लगेका विधेयक, केन्द्र र प्रदेश हुँदै स्थानीय तहसम्म संयन्त्रमार्फत शासन गर्ने शैलीका कारण सरकार एमालेकरण भएको टिप्पणी गरेका छन् ।
मंगलबार काठमाडौंमा भएको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलामा उनले सरकार लोकतान्त्रिक शक्तिहरूको भन्न अफ्ठ्यारो पर्ने अवस्था आएको पनि बताए । संयन्त्रले सरकार चलाउने कम्युनिस्ट देशमा मात्र हुने तर अहिले यही प्रक्रिया केन्द्रदेखि गाउँपालिकासम्म बनाइसकेको भन्दै वडामा पनि संयन्त्र बनाएर चलाउने दुष्प्रयास भैरहेकोले बिस्तारै नथाहा पाउने किसिमले एमालेकरण भइरहेको छ आफूलाई लागेको बताए ।

कोइरालाले यसअघि झैँ अध्यादेशलाई पनि लोकतान्त्रिक मान्न नसकिने बताए । संसद् नभएको समयमा अध्यादेश जारी गर्न मिल्ने भन्दै संसद्ले बनाउने सबै कानुन अध्यादेशबाट ल्याएर समृद्धि नआउने उनको भनाइ छ । कोइरालाले महान्यायाधिवक्ताको क्रियाकलाप हेर्दा अधिकारको दुरुपयोग भइरहेको छ भन्नेमा दुई मत नभएको पनि बताए ।
आफ्नो समेत पहलमा कांग्रेस एमालेको सरकार बनेको तर अहिले यसले लोकतन्त्रलाई अप्ठेरो पारिरहेको उनको आरोप थियो । कोइरालाले संसदमा सरकारले पेश गरेको सामाजिक सञ्जाल विधेयक जस्ताको तस्तै पारित भए अभिव्यक्ति स्वतन्त्रमा आघात पुग्ने बताए ।

ad

उनले पत्रकारहरूलाई सरकारविरुद्ध खबरदारी गर्न आह्वान पनि गरेका छन् । भेलामा कांग्रेसका अर्का नेता एनपी साउदले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भए पनि नियमनका नाममा अंकुश लगाउने गरी ल्याएको विधेयक स्वीकार्य हुन नसक्ने बताए । उनले प्रेस स्वतन्त्रतामाथि आँच आउने कुनै कदमविरुद्ध उभिने बताए । नेता साउदले जनताको मुद्दालाई राष्ट्रिय मुद्दा बनाउने दायित्व पत्रकारको भएको पनि बताए । नेता साउदले संसदलाई अवमूल्यन गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने पनि बताए ।