काठमाडौँ । नेपाली कांग्रेसका संस्थापन पक्षबिच आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पछिल्लो राजनीतिक अबस्था बारे छलफल भएको छ ।
पार्टीका राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको पहलमा भएको छलफलमा अध्यादेश पास गर्न अपनाउन सकिने वैकल्पिक उपायबारे छलफल भएको हो । बैठकमा नेकपा (एकीकृत समाजवादी)लाई मनाएर राष्ट्रियसभाबाट अध्यादेश स्वीकृत गराउन पहल गर्ने निर्णय भएको छ । राष्ट्रिय सभामा नेकपा एसको सीट ८ सीट छ ।


बैठकमा सभापति देउवासँगै नेता सिटौला उपसभापति पूर्णबहादुर खड्का केपी ओली नेतृत्वको सरकारमा कांग्रेसबाट नेतृत्व गरेर सहभागी भएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, बालकृष्ण खाण डा.प्रकाशशरण महत र एनपी साउद सहभागी थिए ।

ad


बैठकमा नेताहरूले सरकारको नेतृत्व ओलीले गरे पनि प्रमुख सत्तारुढ दल कांग्रेस भएकाले अध्यादेश अस्वीकृत हुँदा नैतिकताका प्रश्न उठ्ने भन्दै जसरी भए पनि पास गर्न कांग्रेसले पहल कदमी लिनुपर्ने धारणा राखेका थिए । राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद सिटौलालाई नेकपा एससँग छलफल गर्न जिम्मा दिइएको छ ।
यसैबीच नेपाली कांग्रेसले अध्यादेशमा नेकपा (एकीकृत समाजवादी)सँग सहयोग माग्न गरेको निर्णयलाई सो पार्टीले स्वाभाविक रूपमा लिएको जनाएको छ । सत्तापक्षले अध्यादेश संशोधन गर्ने प्रतिबद्धता जनाए सहयोग गर्न सकिने नेकपा एसका केहि नेताहरुले बताएका छन् ।

कांग्रेसको आजको बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे पनि कुराकानी भएको थियो । सभापति देउवाले महाधिवेशन गर्ने दायित्व आफ्नो भएकाले समयमा गर्नका लागि वातावरण निर्माण गर्न तयार रहेको बताएका थिए । कांग्रेसको वर्तमान कार्यसमितिको कार्यकाल २०८२ मंसिरमा सकिन्छ ।