
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकमा नसर्ने रोगको पहिचान र सचेतना अभिवृद्धि गर्न फागुनभरि निःशुल्क परीक्षण अभियान सञ्चालन गर्ने भएको छ।
फागुन १ गतेदेखि सुरु हुने यो अभियानमार्फत, समयमै रोग पत्ता लगाई आवश्यक उपचार सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
अभियान अन्तर्गत ३० वर्षमाथिका नागरिकहरूलाई निःशुल्क मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पनि पहिचान गरिनेछ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, देशभर करिब १ करोड ४० लाख ९० हजार नागरिक यो अभियानका लागि लक्षित समूहमा पर्नेछन्।
उनका अनुसार स्थानीय तहका स्वास्थ्य संस्थामार्फत ३० वर्षमाथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ। समयमै रोग पत्ता लगाएर उपचार गर्नु नै अभियानको मुख्य उद्देश्य हो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत मंसिर १६ गते नसर्ने रोगसम्बन्धी एक महिने अभियान सञ्चालन निर्देशिका स्वीकृत गरेका थिए।
मन्त्रालयले फागुन महिनाभरि पाठेघरको मुखको क्यान्सरविरुद्धको स्क्रिनिङ अभियान पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ।
नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता राख्दै सुरु गरिएको यो अभियानले नसर्ने रोगको जोखिम न्यूनीकरण गर्दै आमजनतालाई स्वस्थ जीवनशैलीतर्फ उन्मुख गराउने विश्वास गरिएको छ।









Facebook Comments