
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले यस हप्ता स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत भन्सार लगाउने बताएका छन् । यो उनले घोषणा गरेका व्यापार करहरूको पछिल्लो शृङ्खला हो । एयर फोर्स वन विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा लागू हुने र यसले एलुमिनियमलाई पनि प्रभाव पार्ने बताए ।
सन् २०१७–२०२१ को राष्ट्रपति कार्यकालमा अमेरिकी उद्योगको सुरक्षाका लागि ट्रम्पले यस्तै शुल्क लगाएका थिए । यसलाई उनले एसियाली र युरोपेली देशहरूबाट अनुचित प्रतिस्पर्धाको सामना गर्नुपरेको विश्वास गरेका थिए । अमेरिकी व्यापार तथ्याङ्कअनुसार क्यानाडा संयुक्त राज्य अमेरिकामा स्टिल र एलुमिनियम आयातको सबैभन्दा ठूलो स्रोत हो । ब्राजिल, मेक्सिको र दक्षिण कोरिया पनि देशका प्रमुख स्टिल आपूर्तिकर्ता हुन् । क्यानाडालाई ट्रम्पले पहिले नै भन्सारको धम्की दिइसकेका छन् । रिपब्लिकन अर्बपति ट्रम्पले आइतबार अन्य देशहरूले अमेरिकी उत्पादनहरूमा लगाएको दरसँग मिल्ने गरी आफ्नो सरकारको भन्सार बराबर गर्न ‘पारस्परिक भन्सार’ को घोषणा गर्ने पनि बताए ।
राष्ट्रपतिले पदभार सम्हाले लगत्तै प्रमुख व्यापार साझेदार चीन, मेक्सिको र क्यानाडामा भन्सार लगाउने आदेश दिएर संयुक्त राज्य अमेरिकाको वित्तीय शक्तिलाई हतियार बनाउने आफ्नो रुचि देखाएका छन् ।
ट्रम्पले युरोपेली सङ्घ (इयु) मा पनि कर लगाउने घोषणा गरेका छन् ।









Facebook Comments