
वीरगन्ज । मधेस प्रदेशकै सर्वाधिक धनराशिको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगञ्जको आर्दशनगर रंगशालामा हुने भएको छ ।
भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउनेछन् ।
फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । भेट्रान सिटी क्लब वीरगन्जका अध्यक्ष सबिन बस्नेतले मधेश प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए ।
‘‘विगतमा वीरगञ्जमा फुटबलका गतिविधि निकै धेरै हुन्थे । तर,पछिल्लो समय वीरगञ्जमा फुटबलका गतिविधि सुस्ताएसँगै खेलकुदको विकास र जर्गेना गर्नका लागि प्रतियोगिताको आयोजना गर्न लागेका हौं,’’ उनले भने, ‘प्रतियोगिता ए डिभिजन लिग फुटबल खेल्ने टोलीसहित भारतीय टोलीको पनि सक्रिय सहभागिता जनाउनेछन् । यसले मधेश प्रदेशमा फुटबल खेलको विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेका छौं ।’
प्रतियोगितामा संकटा फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमन्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड, काठमाडौं, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगन्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
क्लबका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले प्रतियोगिताको विजेता टोलीलाई नगद रु ११ लाख ११ हजार एक सय एघार, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा वीरगन्ज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माणको कार्यलाई पनि तीव्रता दिइएको छ ।
प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगञ्ज गोल्डकपको विजेताको रुपमा नेपाल पुलिस क्लब र उपविजेताको रुपमा नेपाल आर्मी क्लब भएको थियो ।









Facebook Comments