
काठमाडौं– पार्टीले लिनुपर्ने नीति निर्माणमा सहयोग पु¥याउनुका साथै संगठन विस्तारका लागि सहयोग पु¥याउन अध्ययन अनुसन्धान गर्नेलगायतको अधिकार पाएको नेपाली कांगे्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले माघ २२ र २३ गते नेपाली कांग्रेसका ७७ जिल्लाका पार्टीका सभापति र उपसभापतिलाई पोखरामा बोलाएको छ । प्रतिष्ठानको आयोजना तथा नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा दुई दिन पोखरामा जिल्ला सभापति र उपसभापतिहरूका लागि प्रशिक्षण कार्यक्रम हुन लागेको हो ।
७७ वटै जिल्लाका सभापति र जिल्लाको प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका उपसभापति कार्यक्रममा सहभागी हुने बताइएको छ । प्रशिक्षणको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मालगायत नेताको उपस्थिति रहनेछ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख उपसभापति पूर्णबहादुर खड्का छन् । यसैबीच यही माघ २४ गते बस्ने कांग्रेस संसदीय दलको बैठकमा मन्त्रीहरू, पदाधिकारीहरू तथा नेताहरूले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् । यसअगाडि बसेको बैठकमा सांसदहरूले समसामयिक राजनीति, संसद्, अध्यादेशलगायत विषयवस्तुहरूमाथि आ–आफ्नो धारणा राखेका थिए ।
संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने, पार्टीको १५औँ महाधिवेशन निर्धारित समयमा नै गरिनुपर्ने लगायतका विषयमा सांसदहरूले सुझाव दिएका थिए । आगामी संघको निर्वाचन स्थानीय तहको निर्वाचनभन्दा अगाडि गर्ने गरी आवश्यक व्यवस्था मिलाउन पनि कांग्रेस सांसदहरूले जोडदार माग गरेका छन् । एमालेसँग भएको सहमतिअनुसार सरकारलाई प्रभावकारी ढंगबाट अगाडि बढाउन पनि कांग्रेस सांसदहरूले सुझाव दिएका थिए ।









Facebook Comments