
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो । कांग्रेसको विधानअनुसार ४ वर्षे कार्यकाल रहन्छ । ४ वर्षे कार्यकाल २०८२ को मंसिरमा पूरा हुने भएकाले अब १ बर्षभन्दा कम समय छ । तर, कांग्रेसकै विधानमा १ वर्ष कार्यकाल थप्न पाइने व्यवस्था गरिएको छ भने संविधानअनुसार कुनै पनि राजनीतिक दलहरूले हरेक साढे ५ वर्षभित्रमा अधिवेशन गर्नुपर्ने व्यवस्था छ । त्यसैले अहिलेदेखि नै नेपाली कांग्रेसमा १५औँ महाधिवेशनको मितिका विषयमा रस्साकस्सी सुरु भइसकेको छ । संस्थापन पक्ष संविधानको पनि सुविधा प्रयोग गर्ने मनसायमा देखिँदा संस्थापनइतर पक्षले भने नियमित ४ वर्षमा अधिवेशन गर्नुपर्ने जोडदार आवाज उठाउँदै आएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिने डा. प्रकाशशरण महतले कांग्रेसको महाधिवेशन २०८४ सालमा गर्नुपर्ने बताएका छन् भने केही समयअघि देउवाको आशीर्वाद पाएर पार्टी सभापति हुने आकंक्षा राखेका डा. शशांक कोइराला र डा. नारायण खड्का्लगायतले पनि आमनिर्वाचनपछि मात्रै १५औँ महाधिवेशन हुनुपर्ने तर्क गर्दै आएका छन् ।
पहिला महाधिवेशन हुँदा त्यसको असर आम निर्वाचनमा पर्ने तर्क गर्दै संस्थापन पक्ष मिति पर धकेल्ने प्रयासमा देखिएका बेला नेपाली कांग्रेसको संगठन विभाग प्रमुख र आसन्न महाधिवेशनमा सभापतिको आंकाक्षीको चर्चामा भएका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशन बारे स्पष्ट ढंगले जवाफ दिएका छन् । केही नेताहरूले २०८४ को आमचुनावपछि महाधिवेशन गरे पनि हुने बताएको सन्दर्भ उल्लेख गर्दै महामन्त्री थापाले महाधिवेशनबाट आएको नेतृत्वले नै अगुवाइ गरेर पार्टी ०८४ को चुनावमा जाने बताए ।
काठमाडौं महानगरपालिका वडा नम्बर ७ ले शनिबार आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘०८४ को चुनावपछि महाधिवेशन गरे हुन्छ भनेर केही नेताहरूले बोलिदिनुभएको छ, त्यसले महाधिवेशन केही पछि जान्छ कि भन्ने धेरैलाई लाग्छ, तर त्यो गर्नै मिल्दैन । महाधिवेशन सार्न संविधानले पनि दिँदैन, एक महाधिवेशनबाट अर्को महाधिवेशनबीच जति तन्काए पनि साँढे ५ वर्षभन्दा अघि जान मिल्दैन ।’ कांग्रेसले चैतभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने र त्यसपछि नयाँ क्रियाशील बाँड्ने तयारी गरेको छ । १४औँ महाधिवेशनमा संस्थापन इतरबाट सभापतिमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाले पनि कुनै पनि हालतमा १५औँ महाधिवेशन समयमै हुनुपर्ने बताउँदै आएका छन् ।









Facebook Comments