
काठमाडौं । विभिन्न स्थानीय तहका रिक्त ४४ पदमा आज आइतबार निर्वाचन हुन लागे पनि २ पदमा कांग्रेसका उम्मेदवार यसअघि नै निर्विरोध भइसकेका छन् भने अन्य पदमध्ये अधिकांशमा कांग्रेसकै उम्मेदवार बलिया देखिएका छन् । माओवादीसहितका केही दलले तालमेल गरिरहेको अवस्थामा पनि कांग्रेसले यसअघि जितेका सिट कायम राख्दै थप सिट हात पार्ने कांग्रेसका नेताहरूले दाबी गरिरहेका छन् । यो उपचुनावलाई नेपाली कांग्रेस, एमाले, माओवादीलगायतका राजनीतिक दलहरूले गएको चुनावपछि आफ्नो दलको जनमत परीक्षणको रूपमा पनि लिएका छन् ।
आज ४ जिल्लाका चारवटा स्थानीय तह प्रमुख, थप ४ वटा स्थानीय तहको उपप्रमुखका लागि निर्वाचन हुँदैछ । यसरी ८ स्थानीय तहमा हुने उपचुनावले त्यस जिल्लामा कुन पार्टीको जनमत बढेको छ र कुन दलको प्रभाव घटेको छ भनेर पनि स्पष्ट हुने नेताहरूले बताएका छन् । यी ८ वटा पालिकामध्ये २०७९ को चुनावमा नेपाली कांग्रेसले ६ वटा जितेको थियो भने माओवादीले दुईवटामा जितेको थियो । यी पालिकाहरूमा एमाले, राप्रपा वा रास्वपालगायतका दलहरूले गुमाउनुपर्ने अवस्था केही पनि छैन । तर, कांग्रेस र माओवादी केन्द्रले भने आफ्नो वर्चस्व जोगाउनुपर्ने चुनौती भइरहेका बेला कांग्रेसले सिट बढाएर समर्थन बढ्दै गइरहेको छ भने देखाउने दाबी गरेको छ । त्यस्तै, ३४ वडामा वडाध्यक्षहरूको निर्वाचन हुने छ । गएको चुनावमा भन्दा यसपालि कांग्रेसले बढी सिट जित्ने उसको दाबी छ ।
पछिल्लो समय विशेषगरी कीर्तिपुर नगरपालिकाको मेयरलाई लिएर अन्यत्रभन्दा बढी चासो देखिएको छ । कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत दलहरू एक्लाएक्लै चुनाव लडेकाले पनि कीर्तिपुरमा कांग्रेसलाई सहज देखिएको छ । कांग्रेसका कृष्णमान डंगोल मेयरका उम्मेदवार छन् । यसअघिको चुनावमा कांग्रेसले जितेका कीर्तिपुर नगरपालिका प्रमुख, नलगाढ नगरपालिका उपप्रमुख, महाबु गाउँपालिका अध्यक्ष, स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष, ग्रामथान गाउँपालिका अध्यक्ष र गौरीशंकर गाउँपालिका उपाध्यक्षमा कांग्रेसले जितेको थियो ।
त्यस्तै माओवादीले पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र सर्केगाढ गाउँपालिका उपाध्यक्ष जितेको थियो । उपचुनाव हुन लागेका अधिकांश वडाध्यक्ष पनि कांग्रेसले नै जितेको थियो । यो उपनिर्वाचनमा पुरानो जित कायम राख्दै अन्य सिट थपिने कांग्रेसको विश्वास छ ।
कीर्तिपुर नगरपालिका सबैको प्रमुख चासो
प्रमुखको पदका लागि उपनिर्वाचन हुन लागेका तीनवटा स्थानीय तहमध्ये धेरैले राजधानीको कीर्तिपुर नगरपालिकाको निर्वाचनलाई प्रमुख चासोका साथ हेरेका छन् । कीर्तिपुर नगरपालिकामा प्रमुख राजनीतिक दलहरूका उम्मेदवारसहित २० जना प्रतिस्पर्धामा छन् । तीमध्ये राजनीतिक दलहरूबाट नौजना र स्वतन्त्र उम्मेदवार ११ जना छन् । अघिल्लो निर्वाचनमा कीर्तिपुर नगरपालिकामा कांग्रेसले गठबन्धन नगरी एक्लै जितेको थियो । योसहित आफ्नो दलबाट निर्वाचित भएका उपप्रमुख रिक्त भएका स्थानमा आफ्नो वर्चस्व कायम राख्न कांग्रेस लागिपरेको छ ।
एमालेले पनि कीर्तिपुर नगरपालिकासँगै सबै स्थानमा उत्तिकै प्राथमिकताका साथ चुनावी प्रचार गरेको दाबी गरेको छ । नेकपा माओवादी केन्द्रले भने कीर्तिपुर नगरपालिकासहित केही स्थानीय तहमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग तालमेल गरेको छ ।
२०७९ सालमा कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर विजयी भएका थिए । उनको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ । बौद्धिक व्यक्तिका रूपमा परिचित डंगोल पूर्वशिक्षक हुन् । पछिल्लो समय उनी आफ्नै व्यवसायमा संलग्न रहँदै समाजसेवामा रहेका छन् । आफू नगरप्रमुखमा निर्वाचित हुनेमा उनी ढुक्क देखिन्छन् ।
यस्तै, एमालेले उम्मेदवार डा. सुरेन्द्र मानन्धरलाई चुनावी मैदानमा उतारेको छ । उनी २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० बाट उठेर पराजित भएका थिए । त्यसबेला कांग्रेसका राजेन्द्र केसी विजयी हुँदा मानन्धर दोस्रो भए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो भएका थिए । विद्यार्थीकालदेखि नै राजनीति गरेका मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य हुन् । उनी पनि यसपटक कीर्तिपुरमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् ।
गत चुनावमा कीर्तिपुरमा माओवादी केन्द्रका शिवशरण महर्जन ४ हजार ९० मत ल्याएर तेस्रो भएका थिए । यो एमालेको भन्दा १ हजार ४१७ मत कम हो । उनै महर्जनलाई माओवादीले चुनावी मैदानमा अगाडि सारेकोे छ ।
कीर्तिपुरको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारको बाहुल्य रहेको छ । राजमान मानव महर्जन, दिनेशकुमार अधिकारी, नवरथकुमार बानियाँ, आनन्द महर्जन, कविकुमार महर्जन, रामकृष्ण महर्जन, नरेशराज पाण्डे, नरेश श्रेष्ठ, भीम महर्जन, प्रेमबहादुर महर्जन र धर्मरत्न मानन्धर गरी ११ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।
स्वतन्त्रमध्येबाट यसपटक राजमान मानव सर्वाधिक चर्चामा छन् । कुनै समय एमाले निकट रहेका उनी पछिल्लो समय सफाइ अभियन्ताका रूपमा उनी चिरपरिचित छन् ।
स्वतन्त्र उम्मेदवारको बाहुल्य रहेको कीर्तिपुर उपनिर्वाचनमा स्वतन्त्रबीच नै मत बाँडिने आकलन गरिएको छ । यस्तो अवस्थामा ठूला दलका उम्मेदवारलाई फाइदा हुन सक्छ । स्वतन्त्रमध्येका चर्चित उम्मेदवार राजमान मानव पहिले एमाले निकट रहेकाले उनले सो पार्टीको केही मत प्रभाव पार्न सक्छन् । यसको प्रत्यक्ष फाइदा कांग्रेसले लिन सक्छ । अघिल्लो निर्वाचनमा पनि बिनागठबन्धन निर्वाचन लडेर निकटतम प्रतिद्वन्द्वीले भन्दा झन्डै दोब्बर मत ल्याएकाले पुनः निर्वाचित हुनेमा कांग्रेस ढुक्क देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी २६ स्थानमा उम्मेदवारी दिएर पहिलो पटक स्थानीय तहको चुनावमा सहभागी हुन लागेको छ । तर उक्त दलले कीर्तिपुरको मेयरमा उम्मेदवारी दिएको छैन ।









Facebook Comments