देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दसैंलाई दिनहुँ १० करोडका नयाँ नोट

देशान्तर

दसैं र तिहारका लागि भन्दै सर्वसाधारणले प्रतिदिन १० करोड रुपैयाँ बराबरको नयाँ नोट साटिरहेको राष्ट्र बैंकले जनाएको छ । यो राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार र सातवटै प्रदेशमा रहेका प्रादेशिक कार्यालयबाट सर्वसाधारणका लागि वितरित नयाँ नोटको मात्र तथ्यांक हो । यसमा सो अवधिमा बैंक तथा वित्तीय संस्था र अरू संघसंस्थालाई वितरित नयाँ नोटको तथ्यांक समेटिएको छैन ।

‘केन्द्रीय कार्यालयबाट दैनिक औसत ४ सय ५० र प्रादेशिक कार्यालयबाट दुई हजारका दरले सर्वसाधारणले राष्ट्र बैंकबाट नयाँ नोट सटही गरिरहेका छन्,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले भने, ‘सर्वसाधारणले औसतमा दैनिक १० करोड रुपैयाँका दरले नयाँ नोट सटही गरेको देखिन्छ । दसैं नजिकिँदै जाँदा नयाँ नोट सटही गर्न आउने क्रम बढेको छ ।’

राष्ट्र बैंकले सर्वसाधारणका लागि यही असोज ४ देखि सर्वसाधारण र त्यसको दुई साताअघिदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट वितरण गर्दै आएको छ । ‘बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई गरी हालसम्म करिब ४ अर्ब ६० करोड बराबर नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिएको छ,’ नेपालले थपे ।

हाल बैंक तथा वित्तीय संस्थाले पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण थालेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये १६ वटाले सूचना जारी गरेर सर्वसाधारणका लागि नयाँ नोट वितरण सुरु गरेको जानकारी राष्ट्र बैंकलाई पठाएका छन् । राष्ट्र बैंकका अनुसार बाँकी बैंक तथा वित्तीय संस्थाले पछि छिट्टै वितरण सुरु गर्ने भएका छन् ।

‘बैंकहरूले हरेक दिन समय नै तोकेर सर्वसाधारणलाई सूचना जारी गरेका छन्,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘बैंकहरूले आफ्ना ग्राहकलाई मात्र उक्त सुविधा दिएका छन् ।’ यसकारण सर्वसाधारणले आफ्नो खाता रहेको बैंकमा गएर बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । कान्तिपुरमा खबर छ ।