देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसले टुङ्ग्यायो थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद

देशान्तर

काठमाडौँ – नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि थप १० जिल्लाका पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गो लगाएको जनाएको छ । कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ । यही भदौ १८ गतेदेखि प्रारम्भ भएको पार्टीको वडा अधिवेशन हालसम्म उक्त सबै ५७ जिल्लामा सम्पन्न भइसकेको छ ।

बाँकी २० जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी प्रिन्ट भइसकेको र १० जिल्लाको क्रियाशील सदस्यता विवरण पनि आजै सार्वजनिक गर्ने गरी काम भइरहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सबै जिल्लाको विवाद समाधान गरी छिट्टै पार्टीको केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाइने उनले बताए। क्रियाशील सदस्यता विवरण प्राप्त भएपछि मात्र समितिले बाँकी जिल्लामा वडा अधिवेशन प्रारम्भ गर्ने जनाएको छ ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ-नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । कांग्रेसको पछिल्लो अधिवेशन कार्यतालिकाअनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा गाउँ-नगर वडा अधिवेशन आगामी असोज ५ गते तोकिएको छ ।

त्यस्तै गाउँ-नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको उनले बताए। एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ । यस्तै कांग्रेसले प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ ।