देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद बैठक भदौ २९ गतेसम्मका लागि स्थगित

देशान्तर

काठमाडौं – एमाले सांसदको अवरोधपछि आइतबारको प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। एमाले सांसदहरूको निरन्तरको नाराबाजीपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ मंगलबार दिउसो १ बजे बस्ने गरी स्थगित गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी गरे। पहिलो बैठक नाराबाजीकै कारण करिब २० मिनेट पछि स्थगित भएको थियो। सभामुख सापकोटाले १५ मिनेटका लागि स्थगित गरेको बैठक पुनः सुरु भएसँगै एमालेका सांसदले नाराबाजी सुरु गरेका हुन्।

नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ। सभामुख सापकोटाले जनताको सर्वोच्च सस्था संसदलाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरेपछि एमालेको सांसदले नाराबाजी जारी राखे। सापकोटाले आफ्नो अधिकार खोज्दा अरूको अधिकारमा पनि ध्यान दिन आग्रह गरे।

पहिलो बैठक १५ मिनेटका स्थगित गरेर उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरे। कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समेत सहभागी बैठकले कुनै निष्कर्ष निकाल्न सकेन। आजको बैठकका लागि १९ वटा कार्यसूची तय गरिएपनि एमालेको अवरोधपछि बैठक अघि बढ्न सकेको छैन।