देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेता लेखनाथको ‘कांग्रेस र म’

देशान्तर

लेखनाथ न्यौपाने नेपाली कांग्रेस भक्तपुरका जीवितमध्येका निरन्तर क्रियाशील एवं नेतृत्वमा रहेका वरिष्ठ नेता हुन् । भक्तपुर र उपत्यकाका मात्र होइन नेपालमै हाल पार्टीलाई नेतृत्व गरिरहेका नेताहरू सुशील कोइराला, रामचन्द्र पौडेल शेरबहादुर देउवाका समकालीन र सँगै काम गरेका नेता पनि हुन् । २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि किसान आन्दोलनमार्फत जोताहाहरूलाई हक दिलाउने अभियानमा लाग्दै गर्दा उनले २०१२ सालमा नेपाली कांग्रेसको सदस्यता लिएका थिए ।

समकालीन अग्रज नेता स्व. जगन्नाथ आचार्यको संसर्गमा रही किसान आन्दोलनमार्फत जोताहाहरूलाई हक दिलाउने आन्दोलनमा लागे पनि प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको सरकारले भूमिसुधारसम्बन्धी बिर्ता र बेठ खारेज, राजारजौटा उन्मूलनलगायतका मोही (जोताह) हकमा कार्य गर्दागर्दै राजा महेन्द्रले दुई तिहाई जनमत प्राप्त जननिर्वाचित सरकारलाई बलात् कू गरेपछि नेपाली कांग्रेसको सरकारले गर्दै गरेको भूमिसुधार तुहिएपछि लेखनाथ न्यौपाने पनि सशस्त्र आन्दोलन, निर्वासन झेल्दै पूर्णकालीक कांग्रेस कार्यकर्ता भएको देखिन्छ ।

‘कांग्रेस र म’ नेता लेखनाथ न्यौपानेको आफ्नो भोगाइलाई उतारेको संस्मरण हो । यसमा उनले आफ्नो सँगै नेपाली कांग्रेसको इतिहासलाई पनि स्मरणले भ्याएसम्म पुस्तकमा उतार्न खोजेका छन् । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ पत्रकार भैरव रिसालले भूमिका लेखेको  न्यौपानेको यो संस्मरणात्मक कृतिमा केवलको उनका व्यक्तिगत भोगाइमात्र होइन कि २००७ सालपछिको नेपाली कांग्रेसको इतिहासलाई वर्णन गर्नेे प्रयास गरेका छन् । ११ वटा विभिन्न विषयवस्तुमा खण्डित ‘कांग्रेस र म’ कृतिमा न्यौपाने संलग्न भएको आन्दोलन विशेषगरी भूमिसुधारका प्रयास त्यसमा नेपाली कांग्रेसको सहयोग र कांग्रेसको सरकार हुँदा गरेका सुधारका प्रयासहरूको बारेमा उल्लेख  छ ।

पुस्तक वस्तुगत किन पनि छ भने त्यो लेखक न्यौपाने बाँचेको समय र होमिएको आन्दोलनको हर्ताकर्ता सहभागी पनि भएकोले पनि कुनै पर्यवेक्षकले लेखेकोभन्दा सचित्र रहेको देखिन्छ । पुस्तकमा २०१७ को महेन्द्रको कू पछिको कांग्रेसले गरेको आन्दोलन, त्यसमा भएका गतिविधि जो नेपाली कांग्रेससँग सम्बन्धित थिए । त्यस्तै उनको निर्वासनको जीवन त्यतिबेलाको राजनीतिक तथा सांगठनिक कार्यक्रमको योजना, सञ्चालन र कार्यान्वयनको बारेमा सविस्तार वर्णन गरिएको छ ।

राणा शासनको बर्बरता, प्रजातन्त्र प्राप्तिका लागि भएका आन्दोलन र प्रजातन्त्र प्राप्तिपछिको राजनीतिक गतिविधि र ती प्रत्येक गतिविधिमा नेपाली कांग्रेसको सहभागिता,  २०१७ सालको कू, पञ्चायती शासनकालमा भएको  नेपाली कांग्रेसको आन्दोलन, २०४६ सालको परिवर्तनदेखि गणतन्त्र प्राप्तिसम्मका राजनीतिक आरोहअवरोह साथै ती प्रत्येक राजनीतिक आरोहअवरोहमा नेपाली कांग्रेसको  योगदानको बारेमा पुस्तकमा सजीव वर्णन गरिएको छ ।

‘कांग्रेस र म’ केवल आत्मगन्थनमात्र होइन, नेपाली समाज, नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको बारेमा लेखिएको ऐतिहासिक  कृति किन पनि हो भने यसका लेखक स्वयम् त्यो आन्दोलन र घटनाक्रमका पात्र हुन् ।  यतिमात्र यसको अन्तिम आधार भने होइन यसमा समावेश तिथिमिति र तथ्यहरूले पनि कृतिको आधिकारिकताको पुष्टि गर्दछ ।

समग्रमा  यो पुस्तक लेखनाथ न्यौपाने र कांग्रेसको ऐतिहासिक दस्तावेज  हो । प्रस्तुतकर्ताले नेता न्यौपानेको सस्मरणमा आधारित भएर पुस्तक तयार गरेकोले समकालीन राजनीतिक नेताहरूले नै अझ यसको राम्रो चिरफार गर्न सक्छन् भन्ने ठम्याइँ छ ।

 

]]>