काठमाडौं – कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन सकिरहेका छैनन् । सरकारले सहरी क्षेत्रमा खोप अभियान द्रुत गतिमा अघि बढाए पनि ग्रामीण र दुर्गम क्षेत्रमा खोप अभियान अझै सुस्त गतिमा छ । जसका कारण दूरदराजका बहुसंख्यक नागरिक खोपबाट वञ्चित छन् ।
सरकारले जारी गरेको खोप अभियानअन्तर्गत शुक्रबारसम्मको तथ्यांक विश्लेषण गर्दा बागमती प्रदेशमा १३ लाख ५६ हजार ६ सय १८ जनाले पूर्ण खोप लगाउँदा कर्णाली प्रदेशका १ लाख १४ हजार ३ सय ४ जनाले मात्रै पूर्ण खोप लगाएका छन् । कर्णाली प्रदेशमा जनसंख्या थोरै भए पनि बागमती प्रदेशको तुलनामा सो प्रदेशमा खोप लगाउन संख्या निकै न्यून हो । अहिले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको खोप प्राथमिकता योजनाअनुसार खोप अभियान सञ्चालन हुन सकेको छैन ।
सोर्स फोर्स रोकिन नसक्दा लक्षित समूहभन्दा बाहिरका नागरिकले समेत खोप लगाइरहेका छन् । तर, सरकारले निगरानी बढाउन सकेको छैन । यस्तै, प्रदेश १ मा ३ लाख ८ हजार २ सय ३७, प्रदेश २ मा ३ लाख ७३ हजार ५ सय ३, गण्डकी प्रदेशमा २ लाख ९१ हजार ९ सय ६, सुदुरपश्चिम प्रदेशमा २ लाख १५ हजार ५ सय ३७ जनाले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । राजधानी दैनिकबाट
प्रतिक्रिया