एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतामा लाग्ने कि सत्ता गठबन्धनमै रहेर सरकारमा जाने भन्ने विषयमा ‘निर्णायक’ गृहकार्य थालेका छन् । हरहालतमा पार्टी एकतामा जानुपर्ने दोस्रो तहका नेताको दबाब र आफ्नै भूमिकाका कारण गठन भएको सरकारमा जानुपर्ने सांसदहरूको अडानले अलमलमा परेका वरिष्ठ नेता नेपालले आफ्नो पक्षका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श सुरु गरेका छन् ।
देशभरका कार्यकर्तासमेत अन्योलमा रहेकाले नेता नेपालमाथि छिटो टुंगोमा पुग्न दबाब बढ्दै गएको छ । उनलाई पर्खने हुँदा सत्तारूढ दलले पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । नेता नेपालले गठबन्धनलाई सरकारमा सहभागिताबारे शुक्रबारसम्म ठोस निर्णय लिने आश्वासन दिएका छन् । उनीनिकट केन्द्रीय सदस्यहरूको बिहीबार भएको बैठकमा भने पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव आएको छ ।
नेता नेपालले भने आइतबारसम्म एकताका लागि पहल गर्ने र प्रगति नभए विकल्पमा जाने संकेत दिएका छन् । तर अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय ‘देशद्रोही’, ‘गद्दार’ भनेर नेपालमाथि टिप्पणी गरिरहेकाले पार्टी एकतातर्फ अघि बढ्न समस्या भएको नेताहरूको भनाइ छ । निर्णय लिन जति ढिलो भयो उति छवि धुमिल हुँदै जाने भन्दै नेता नेपालपक्षीय केन्द्रीय सदस्यले निष्कर्षमा पुग्न जोडबल गरिरहेका छन् ।
‘हामीले पार्टी एकताका लागि धेरै र अन्तिमसम्म प्रयास गर्नुपर्छ । त्यसका लागि साउन २४ गतेसम्म मिल्यो भने मिल्यो, नभए सोच्नुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य मेटमणि चौधरीले भने । साउन २४ अन्तिम अल्टिमेटम हो कि फेरि थपिन्छ भन्नेबारे भने उनी पक्षीय नेताहरू अलमलमा छन् । बैठकमा नेता नेपालले मिल्नुपर्छ भन्ने पक्षमा ओली नरहेको बताएका थिए । ‘जब मिल्ने–मिल्ने जस्तो स्थिति हुन्छ, त्यसबेला बैठक राखेर कारबाही गर्छन्, गालीगलौज गर्छन् र वातावरण बिगार्छन् । केपी एकताका लागि गम्भीर छैनन्, एकता पनि गर्दैनन् । तर पनि २४ गतेसम्म हेरौं,’ नेता नेपालले भनेका थिए ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार नेता नेपालले ओलीको अभिव्यक्तिले वातावरण बिग्रेको बताएका थिए । ‘अध्यक्षको प्रस्ताव पनि उनले नै ल्याउने, गद्दारदेखि देशद्रोहीसम्म उनले नै भन्ने १ कार्यदलका साथीहरूसँग पनि कहिले हुन्छ भन्ने, कहिले मान्दिनँ भन्ने, दिनदिनै कुरा फेर्ने १ उनी एकताको पक्षमा छैनन् भन्ने देखिएको छ,’ नेता नेपालले भनेका थिए । उनले सिंगो एमाले पंक्तिले एकता चाहेको उल्लेख गर्दै टिम एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
नेता नेपाललाई पार्टीभित्र एकताका लागि दबाब छ भने सत्ता गठबन्धनका नेताहरूले लगातार भेटेर सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् । यही दबाबका बीच नेपालले केन्द्रीय सदस्यको रायका आधारमा अगाडि बढ्ने योजना बनाएका हुन् । ‘अनिर्णयको बन्दी हुँदा माधव कमरेडको राजनीतिक निष्ठामाथि नै प्रश्न उठ्न थाल्यो । कार्यकर्तामा पनि अलमल पैदा गर्यो । त्यसैले उहाँले ठोस निर्णय लिने मनस्थिति बनाएर केन्द्रीय कमिटी बैठक बोलाउनुभएको हो । अब एउटा स्पष्ट निर्णय आउँछ,’ नेपालनिकट एक केन्द्रीय सदस्यले भने । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया