देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस महाधिवेशन: यसकारण बलियो छ सुर्खेतमा थानी पक्ष र प्रदेशमा पौडेल पक्ष

देशान्तर

सुर्खेत । नेपाली काँग्रेसको महाधिवेशन सम्मुखमै आइपुगेको छ । राजनीतिक घटनाक्रम तल माथि भएन भने पूर्व निर्धारित समय साउनको दोस्रो सातादेखि काँग्रेसको महाधिवेशन प्रक्रिया सुरु हुनेछ । वडादेखि केन्द्र तहसम्म को निर्वाचित हुने, आफ्नो पक्षमा के कति छन्भनेर काँग्रेस वृत्तमा आफ्ना प्रतिनिधि ल्याउने रस्साकस्सी चलिरहेको छ ।

केन्द्रमा संस्थापन पक्ष शेरबहादुर देउवा पक्ष र संस्थापन इतर रामचन्द्र पौडेल पक्ष जिल्ला तहमा आउँदा महामन्त्री पूर्णबहादुर खड्का पक्ष र केन्द्रीय सदस्य हृदयराम थानी पक्षमा विभाजन भएको छ । जिल्लामा हुने हरेक गतिविधिमा यी समूहले एकले अर्कोलाई बेवास्ता गर्ने क्रम जारी नै छ । वडा तहदेखि जिल्ला, प्रदेशसम्म पनि यो क्रम चल्ने नै छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको अधिवेशनलाई निकै चासोका साथ हेरिएको छ । महामन्त्री खड्का र केन्द्रीय सदस्य थानीको गृह जिल्ला भएकोले केन्द्रले पनि निकै चासोका साथ हेरेको छ । सुर्खेतमा नौ स्थानीय तह र ९९ वडा छन् । स्थानीय तहलाई आधार मान्दा आठ वटामा खड्का पक्ष भएको बताइन्छभने वडा तहमा हेर्दा झण्डै ७० प्रतिशत थानी पक्षको भएको दावी गरिएको छ । क्षेत्र नं. १ मा ५४ वटा र क्षेत्र नं. २ मा ४५ वडा गरी कूल ९९ वटा वडामध्ये थानी पक्षले ६३ वटा वडा आफ्नो पकडमा भएको दावी गरेको छ । सात वटा वडा दोधारमा रहेको बताइन्छ । त्यसैले स्थानीय तहको अवस्था जे जस्तो भएपनि वडामा आफ्नो पकड भएको हुँदा थानी पक्ष ढुक्क छ । यद्यपि ती सवै वडाहरुमा खड्का र थानी पक्षले आ—आफ्ना गतिविधिहरु गर्दै आएका छन् ।

अघिल्लो अधिवेशनमा कमजोर मानिएका सिम्ता, गुर्भाकोट र भेरीगंगामा पनि थानी पक्षले आफ्नो पक्षमा सुधार भएको दावी गरेको छभने पश्चिमतर्फको चौकुने, पंचपुरी र बराहतालमा पनि सुधार भएपछि हौसिएको छ । चिंगाड, लेकबेसी र वीरेन्द्रनगरबाट अघिल्लो अधिवेशनमा खड्का पक्षबाट प्रतिनिधि शुन्य थियो ।

अहिलेको अधिवेशनले वडालाई निकै महत्वपूर्ण जिम्मेवारी दिएको छ । वडाबाटै छनौट भएका आएका प्रतिनिधिहरुले गाउँ नगर, प्रदेश, क्षेत्र र जिल्लालाई मतदान गर्ने हुँदा वडामा छनौट आउन निकै प्रतिस्पर्धा देखिएको छ । सुर्खेतका वडामा कम्तीमा १६ जनादेखि ४६ जनासम्म प्रतिनिधि आउनेछन् । सुर्खेतमा सवैभन्दा धेरै वीरेन्द्रनगर नगरपालिका वडा नं. २ र ६ बाट ४५÷४६ जना प्रतिनिधि छनौट हुनेछनभने अन्य वडाहरुबाट कम्तीमा १६ जना छनौट हुनेछन् ।

सुर्खेतमा वडाबाट करिव १८ सय प्रतिनिधिहरु छनौट हुनेछन् । गाउँ, नगर र वडा समितिमा उम्मेदवार हुन सक्रिय सदस्य हुनुपर्नेछभने प्रदेश, क्षेत्र समितिमा उम्मेदवार हुन वडाबाट क्षेत्रीय प्रतितिधि हुनुपर्नेछ । जिल्लामा उम्मेदवार हुन महाधिवेशन प्रतिनिधि छनौट हुनुपर्ने प्रावधान छ ।

यसैगरी कर्णाली प्रदेशमा पनि पौडेल पक्ष हावी छ । १० जिल्लामा हुम्ला बाहेक अन्य नौ जिल्लामा पौडेल पक्षधरका जिल्ला सभापति छन् । अवको अधिवेशनमा पनि धेरै जसो वर्तमान सभापतिहरुले नै दोहो¥याउन सक्ने सम्भावना भएको स्रोतले जनाएको छ । सुर्खेतसहित, रुकुम, कालीकोट र डोल्पामा अहिलेका सभापतिहरु नै दोहोरिने बताइएको छ । यी सवै पौडेल पक्षका हुन् ।

यस्तै हुम्ला, सल्यान, दैलेख र जाजरकोटका सभापतिहरु दुई कार्यकाल सभापति भइसकेकोले नयाँ नेतृत्व चयन हुनेछभने मुगुमा पनि दोहोरिने या नयाँ नेतृत्व चयनवारे छलफल भइरहेको जनाइएको छ । दोहोरिने र नयाँ नेतृत्व लिन चाहनेहरुमा धेरैजसो पौडेल पक्षधरका छन् । त्यसैले प्रदेशमा पौडेल पक्षधरले आफ्नो पकड यथावत राख्नेमा दृढ देखिएको छभने सुर्खेतमा धेरैजसो वडाहरु आफ्नो पकडमा भएकोले थानी पक्षधर बलियो भएको जनाएको छ ।

काँग्रेस निर्वाचन तालिका अनुसार यही साउन १२ गतेदेखि काँग्रेस अधिवेशनमा होमिनेछ । साउन १२ गते वडा अधिवेशन, साउन १६ गते गाउँ, नगर अधिवेशन, साउन २० गते प्रदेश, क्षेत्र अधिवेशन, साउन २३ गते क्षेत्रीय अधिवेशन र साउन २६ गते जिल्ला अधिवेशन तोकिएको छ । यस्तै भदौ १ र २ गते प्रदेश अधिवेशन हुनेछ ।