देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागलुङमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु

देशान्तर

बागलुङ – कोरोना सङ्क्रमणबाट यहाँका थप दुई व्यक्तिको ज्यान गएको छ । बडिगाड गाउँपालिका-२ का ६८ वर्षीय र बागलुङ नगरपालिका-३ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो । ६८ वर्षीयको आज बिहान र ८२ वर्षीयको सोमबार साँझ मुत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड-१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत जेठ १९ गते अस्पताल भर्ना हुनुभएका बडिगाड-२ का पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो । यस्तै उपचारकै क्रममा ज्यान गुमाएका बागलुङ-२ का पुरुषमा भने आजै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोनाको लक्षण देखिएपछि उनको सोमबार साँझ मात्रै स्वाबको नमुना सङ्कलन गरिएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५२ पुगेको जनाइएको छ । जसमध्ये गत वैशाखयता शुरु भएको कोरोना महामारीको दोस्रो लहरमा मात्र ४१ जनाको मृत्यु भएको छ ।