देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राउटे समुदायका लागी एकीकृत नीति ल्याइँदै

देशान्तर

काठमाडौँ – लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी भएको छ ।

जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि कर्णाली प्रदेश सरकारले नीति बनाउन लागेको हो ।
राउटे समुदायमा भइरहेका पछिल्ला गतिविधिलाई मध्यनजर गर्दै सामाजिक विकास मन्त्रालयले नीति आवश्यक रहेको भन्दै नीति नै ल्याउने तयारी थालेको छ । सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताए ।

उनले भने ,‘ एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखियो । साउन महिनादेखि नीति अनुसार काम हुन्छ ।’

उनले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताउँदै बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रर्णाली, सुरक्षाको प्रवन्ध, छाना नाना र छानाको व्यवस्थापन लगायतका विषयहरु नीतिभित्र समेटिने बताए ।

राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरुको सामाजिकीकरणमा मन्त्रालयले काम गर्नेछ उनको भनाइ छ । पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरुले गरेको यौन दुर्व्यवहार घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरुको प्रवेश निषेध आवश्यक रहेको महशुस भएको उनले बताए ।

मन्त्री बुढाक्षेत्रीले राउटे समुदायको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले बालबालिकामा रहेको कुपोषण न्यूनीकरण गर्न र उनीहरुको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरूलाई निर्देशन दिए ।