देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेलम्चीमा बाढीको वितण्डा : कयौं घरमा क्षति, दर्जनौं व्यक्ति बेपत्ता

देशान्तर

अविरल वर्षाका कारण सिन्धुपाल्चोकस्थित मेलम्ची र ईन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारमा क्षति पुर्‍याएको छ ।

मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र हुँदै आएको बाढीले हेलम्बु गाउँपालिकाको तिम्बु र चनौटे बजार डुबानमा परेको छ । बाढीका कारण ५० जना भन्दा बढी व्यक्ति बेपत्ता भएको प्रारम्भिक अनुमान छ ।

बाढीले ग्याल्थुममा रहेका ट्राउट फर्म र रिसोर्ट बगाएको प्रहरीले जानकारी दिएको छ । मेलम्ची आयोजनामा काम गर्ने चिनियाँहरु बस्ने क्याम्पमा समेत बाढी पसेको छ भने अम्बाथानको सशस्त्र क्याम्प पनि जाेखिममा रहेकाे प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । 

यता स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले नदीमा आएको बाढीमा परी ५० जना बेपत्ता भएको जनाएका छन् । तामाङले फेसबुकमा लेखेका छन्, ‘मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ। नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति पूर्‍याएको छ। यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु। सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं ।’