देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिरोधात्मक क्षमता बलियो छ, यो तहसम्म संक्रमण बढ्छ भन्ने लाग्या थिएन : प्रधानमन्त्री

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा यो तहसम्म कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिएला भन्ने आफूलाई नलागेको बताएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार सिंहदरबारमा बसेको बैठकलाई सम्बोधन गर्दैं ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेकाले यो तहसम्म संक्रमण फैलिँदैन भन्ने आफूलाई लागेको बताएका हुन् । ‘यो तहसम्म नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) धेरै स्ट्रोङ छ, त्यसकारण हाम्रोमा अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन भन्ने लाग्या थियो,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।

कोरोनाको दोस्रो लहर चलिरहेको नेपालमा दैनिक करिब ९ हजार व्यक्तिमा संक्रमण देखा परिरहेको छ । पछिल्लो समय दैनिक २ सयभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाइरहेका छन् । कतिपयले अक्सिजन पाउन नसकेर ज्यान गुमाउनुपरेको छ ।

यस्तो अवस्थातर्फ इंगित गर्दै प्रधानमन्त्रीले कोरोनाले नेपालमा यस तहको प्रभाव पार्ने आफूले नठानेको बताएका हुन् । उनले गत वर्ष कोरोनाको पहिलो लहर चल्दा संसद्देखि सार्वजनिक मन्तव्यमा नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले धेरै प्रभाव नपर्ने दाबी गर्दै आएका थिए । त्यस्तै, बेसार पानी, अम्बाको पात उमालेर ‘गार्गल’ गर्दा कोरोना निको हुन्छ भन्ने भनाइ उनले पटक–पटक दोहो¥याएका थिए । उनले नेपालीले हिमालबाट बग्ने जडिबुटी पखालेर आएको औषधीय गुण भएको पानी पिउने भएकाले पनि कोरोनाले प्रभाव नपार्ने मन्तव्य संसद्मा नै दिएका थिए ।

अहिले आएर प्रधानमन्त्री ओलीले कोरोनाले यसरी प्रभाव पार्ला भन्ने आफूलाई नलागेको अभिव्यक्ति दिएका हुन् । कोरोना संक्रमणमुक्त हुनुमा रोग प्रतिरोधात्मक प्रणाली बलियो हुनु नै रहेको ओलीले दोहो¥याएका छन् । ‘ति मान्छे निको भएका छन् त्यसमा पनि इम्युन सिस्टमको भूमिका छ,’ उनले भने ।