देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जसपाको द्वन्द्व उत्कर्षमा

देशान्तर

जनता समाजवादी पार्टीमा एकीकरणपूर्वका राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी पक्षधरबीच ध्रुवीकरण बढ्दै गएको छ । दुवै पक्षले अलग–अलग निर्णय गर्न थालेका छन् । प्रतिनिधिसभा पुनःस्थापनापछि नै केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउने वा हटाउने विषयमा विभाजित जसपाको विवाद लुम्बिनी प्रदेशको सत्ता समीकरणले उत्कर्षमा पुर्‍याएको छ ।

लुम्बिनी प्रदेशका चार सदस्यलाई कारबाही गरी पदमुक्त गराउने अध्यक्ष उपेन्द्र यादव पक्षको निर्णयलाई अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधर अस्वीकार मात्रै होइन, प्रतिवाद गर्ने निष्कर्षमा पुगेको छ । बबरमहलस्थित साविकको राजपा कार्यालयमा शुक्रबार ठाकुरसहित तत्कालीन राजपा पक्षधर नेताहरूले अनौपचारिक छलफल गर्दै यादवको कदम पार्टी एकताको हितविपरीत रहेको ठहर गरेका छन् । उनीहरूले अध्यक्ष यादवको अध्यक्षतामा बसेको भनिएको कार्यकारिणी समितिको बैठकलाई किर्ते कामको संज्ञा दिएका छन् । त्यस निर्णयलाई सच्याउन पार्टीमा आन्तरिक संघर्ष र बाहिरी रूपमा कानुनी उपचार खोज्ने उनीहरूको निष्कर्ष छ ।

बबरमहलको निष्कर्षअनुसार सांसदबाट पदमुक्त गरिएका लुम्बिनी प्रदेशका चार मन्त्रीलाई शुक्रबार राजधानी बोलाएर सर्वोच्च अदालतमा रिट हाल्न लगाइएको थियो । रिट लिएर उनीहरू सर्वोच्च अदालत पुगे पनि कोरोना संक्रमणका कारण लगाइएको निषेधाज्ञाका कारण दर्ता हुन सकेन । त्यस्तै पार्टीमा पहिलो वरीयताका अध्यक्ष ठाकुरले निर्वाचन आयोगलाई कार्यकारिणी समितिको बैठक नै नबसेकाले त्यसका आधारमा गरिएको निर्णय अवैध हुने व्यहोराको जानकारी पठाएका छन् ।

साविक राजपाबाट जसपाको कार्यकारिणी समिति सदस्य रहेका केशव झाले गलत तरिकाबाट गरिएको कामको सबैतिरबाट प्रतिवाद गरिने बताए । ‘पार्टी एकतालाई बचाउने दिशामा नेताहरू सचेत हुनुहुन्छ, गलत विषयलाई सच्याएर अगाडि बढ्नुपर्छ भन्ने मान्यताबाट छलफल भएको छ,’ उनले भने, ‘विधि र प्रक्रियाबाट पार्टीको गतिविधिलाई सही ट्र्याकमा ल्याउने कोसिसमा नेताहरू हुनुहुन्छ ।’

केन्द्रीय कार्यकारिणी समितिमा रहेका पूर्वराजपा नेताहरू महेन्द्र राय यादव, रमेशप्रसाद यादव र गजाधर यादवले साथ दिँदा उपेन्द्र यादवका पक्षमा बहुमत पुगेको छ । पार्टी एकीकरण भएयता नै महेन्द्र यादव महन्थ ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट थिए । एकीकरणपछिको मर्यादाक्रम र आफ्नो पक्षका नेताहरूले पार्टीमा उचित स्थान नपाएकामा उनको असन्तुष्टि थियो । उपेन्द्रको पक्षमा लागेका रमेशप्रसाद यादव पनि महेन्द्रनिकट नै हुन् । गजाधर यादव भने राजकिशोर यादवनिकट मानिन्छन् । कान्तिपुर दैनिकमा खबर छ ।