देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अब तालिमबिनै विदेश उड्न खोज्नेलाई विमानस्थलबाटै फर्काइने

देशान्तर

काठमाडौं – अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अभिमुखीकरण तालिमबिनै विदेश उड्न खोजेमा अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षबाटै फर्काइने भएको छ । विदेश जाने श्रमिकको बायोमेट्रिक हाजिरी परीक्षण गर्दा नमिले विमानस्थलबाटै फर्काइने नियम आगामी बैशाख १ गतेबाट लागू हुने भएको हो ।

वैदेशिक रोजगार ऐन र नियमावलीले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रूपमा पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था गरेको छ । तर वैदेशिक रोजगारीमा जाने श्रमिकले जानु पूर्व तोकिए अनुसारको अभिमुखीकरण तालिम र बायो नलिई प्रमाणपत्र मात्र लिने गरेको पाइन्छ । साथै नक्कली बायोमेट्रिक लिई जाने गरेको पाइएकाले अब यसो गरेमा र श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा फर्काइने भएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराएको लिएको कारणले विभागको श्रम कक्षमा वैदेशिक रोजगारीमा जाने श्रमिकको हाजिरी विवरण नमिल्ने गरेको छ । यसरी हाजिरी नमिल्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट श्रमिक वञ्चित हुनेछन् भने बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकृति लिन समेत गाह्रो हुन्छ ।

हेर्नुहोस् विभागद्वारा जारी सूचना :-

यी कुरा ख्याल गर्नुहोस्
यदि, वैदेशिक रोजगारीमा जाने सोच बनाउनु भएको छ भने सबैभन्दा पहिला आफू जाने देश र गर्ने कामको टुङ्गो लगाउने । त्यो काम कुन देशबाट कुन म्यानपावरले ल्याएको छ त भनेर खोज्ने । अनि म्यानपावर कम्पनीमा सम्पर्क गर्ने । यो सबै कुरा वैदेशिक रोजगार विभागको वेवसाइटबाट नै थाहा पाउन सकिन्छ ।

म्यानपावर कम्पनीमा आफू जानकार भएर नै सम्पर्क गर्ने र त्यो काममा जानका लागि प्रक्रिया थाल्ने । नेपाल सरकारसँग श्रम स्वीकृति लिने र नेपालको नै विमानस्थलबाट गन्तव्य देशमा जाने गर्नुपर्छ । यसरी जाँदा तपाईँसँग करार सम्झौता हुन्छ ।

त्यसमा तपाईँले पाउने सेवासुविधा, तपाईँको तलब, कति वर्ष काम गर्न पाउनुहुन्छ लगायतका कुरा उल्लेख गरिएको हुन्छ । यसरी जाँदा यो करार अनुसारका सेवाशर्त पाइएन, अप्ठेरोमा परियो भने तपाईँको उद्धारको जिम्मा नेपाल सरकारको हुन्छ भने तपाईँलाई पठाउने म्यानपावरविरुद्ध उजुरी दिएर आफ्नो लागत फिर्ता लिन सकिन्छ ।