देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा नाम कस्काे, फैसला आज

देशान्तर

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को नाम विवादबारे सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ । सत्तारुढ नेकपाले आफ्नो दल नेपाल कम्युनिष्ट पार्टीसँग नाम जुधाएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दामाथि सर्वोच्चले फैसला सुनाउन लागेको हो । यसअघि सर्वोच्च अदालतले २० फागुनमा निर्णय सुनाउने बताएको भएपनि उक्त दिन पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा अदालत बन्द गरिएपछि फैसला आजलाई सरेको हो ।

नेकपा आफ्नो भएको दाबी गर्दै ऋषि कट्टेलले करिब तीन वर्षअघि सर्वोच्चमा रिट दायर गरेका थिए । २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ गठन भएको थियो । त्यसपछि कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

उक्त उजुरीमा सुनुवाइ गर्दै निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको पक्षमा निर्णय गरेको थियो । आयोगको उक्त निर्णयविरुद्ध कट्टेलले २०७५ साल मंसिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

राजनीतिक दलसम्बन्धी ऐनमा दलको नाम वा चिन्ह आयोगमा दर्ता कायम रहेको दलको नाम वा चिन्हसँग मिल्ने भएमा दर्ता हुन नसक्ने उल्लेख छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपामा विवाद चुलिएको समयमा सर्वोच्चको फैसला आउन लागेको हो । दुबै समूहले आधिकारिक नेकपा आफु भएको दावी गर्दै आएका छन् ।