देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक हजार निजी विद्यालय संकटमा

देशान्तर

कोरोना महामारीका कारण प्रमुख सहरमा साना लगानीमा सञ्चालित करिब एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।

महामारीबीच बन्द भएका विद्यालय पुन: खुल्दा अति न्यून संख्यामा विद्यार्थी भर्ना भएपछि यो स्थिति आएको सञ्चालकहरूको भनाइ छ । उचित नीति लिएर बन्द हुन नदिन सरोकारवालाले शिक्षा मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् । निजी विद्यालय किनबेचको चलखेलसमेत रोक्न शिक्षा व्यवसायीको माग छ ।

कोरोनाका कारण करिब एक वर्ष सहरी क्षेत्रका निजी विद्यालय बन्द रहे । ठूला लगानीका विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गरेका थिए । परिस्थिति सहज हुँदै गएपछि मंसिरयता विद्यालय खुलेका छन् । सहरका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेका छन् भने तिनमा बोर्डिङ स्कुल छाडेर भर्ना हुने अधिक रहेको विद्यालयका प्रधानाध्यापकले जनाएका छन् । निजी विद्यालयमा भने फागुन पहिलो सातासम्म विद्यार्थी भर्ना संख्या यकिन हुन सकेको छैन । सहरी क्षेत्रमा अस्थायी बसोबास गरी गुजारा चलाउँदै आएका सर्वसाधारण बेरोजगार भएपछि आफ्नै थातथलो फर्किएका छन् । साना बोर्डिङ स्कुलमा तिनै निम्न वर्गका छोराछोरी पढ्ने गरेका थिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरीले देशभरका निजी विद्यालयमध्ये पाँचदेखि १० प्रतिशत बन्द हुने स्थितिमा पुगेको बताए । ‘साना लगानीका निजी विद्यालय बन्द हुने स्थितिमा छन्,’ उनले भने,‘विद्यार्थी भर्ना नभएका र थोरै संख्यामा मात्र भर्ना भएका विद्यालय धेरै छन् । त्यसले विद्यालय सञ्चालकलाई आर्थिक दायित्वमा बोझ थपिँदै गएको छ । ऋण लिएका बैंकले बढीमा दुई महिना छुट दिए तर त्यो छुट निरन्तर रहँदैन ।’ कान्तिपुरमा खबर छ ।