देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिव पौडेलका हत्यारालाई आम माफी दिएकोमा तरुण दलको आपत्ति

देशान्तर

काठमाडौँ – नेपाल तरुण दलले शिव पौडेलको हत्यामा संलग्नलाई आम माफी दिएकोमा आपत्ति जनाएको छ । विसं। २०६८ पुसमा जिल्ला कारागार चितवन भरतपुरभित्र तत्कालिन तरुण दलका अध्यक्ष पौडेलको हत्या भएको थियो ।

उनको हत्यामा संलग्न फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल केसीलाई २० वर्ष कैद सजाय फैसला भएको थियो । तर, कारागारभित्रै हत्या जस्तो गम्भिर अपराध गर्नेलाई पनि प्रजातन्त्र दिवसका अवसरमा आम माफी दिएकोमा तरुण दलले आपत्ति जनाएको हो ।

प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपा ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपतिले बाँकी कैद मिनाह गरी आम माफी दिएकोप्रति तरुण दल केन्द्रीय समितिको गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घार निन्दा एवं भत्र्सना गर्दछ,’ अध्यक्ष जितजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जेलभित्रै हत्या जस्तो अक्षम्य अपराध गर्नेलाई आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने कार्य भएको स्पष्ट छ ।’

सरकारको यस्तो गैरजिम्मेवारीपूर्ण कार्यले नेपाल तरुण दल र लोकतन्त्रवादी आम तरुणलाई गम्भीर र आन्दोलित बनाएको विज्ञप्तिमा उल्लेख छ । अपराधिलाई संरक्षण गर्ने सरकारको निर्णयविरुद्ध चरणवद्ध विरोध गर्न पनि तरुण दलले जिल्ला समितिलाई निर्देशन दिएको छ ।