देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मनोहरा करिडोर निर्माण सम्पन्न

देशान्तर

कोटेश्वर–जडीबुटी सडकको सवारी चाप कम गर्ने विकल्पका रूपमा रहेको मनोहरा करिडोर निर्माण सम्पन्न भएको छ । बालकुमारी पुलबाट मनोहरा किनारै किनार लोकन्थली र नरेफाँट जोड्ने बेलिब्रिजसम्मको सडक कालोपत्र भएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । यो करिडार निर्माण शुरु भएको आठ वर्षपछि सम्पन्न भएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए।

उहाँका अनुसार डिभिजनअन्तर्गत ‘क्रोनिक’ ठेक्काका रूपमा रहेको यो ठेक्का सम्पन्न हुँदा ललितपुरबाट भक्तपुरतर्फ जाने सवारी साधन कोटेश्वर–जडीबुटी नगएर सिधै बालकुमारीबाट लोकन्थली जान सक्नेछन् । करिडोरको सडक निर्माण सम्पन्न भए पनि धेरैलाई जानकारी नभएको उनले बताए । उनले भने, “धेरैलाई जानकारी भएपछि र करिडोर प्रयोग बढेपछि कोटेश्वर–जडीबुटी सडकको जाम कम हुनेछ ।”

डिभिजनले विसं २०७०-७१ मा सो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको थियो । सडकको बजेट झण्डै रु १५ करोड छ भने यो खण्डको लम्बाइ एक दशमलव दुई किलोमिटर छ । यसअघि नै बल्खुबाट वाग्मती किनारैकिनार बालकुमारीसम्म करिडोर सञ्चालनमा छ । यसले गर्दा बल्खुबाट कुनै पनि सवारी साधन मुख्य सडक नपुगी भक्तपुर पुग्न सक्नेछ ।

सरकारले मुख्य सडकको सवारी चाप कम गर्न वाग्मती र त्यसका सहायक नदीहरुमा करिडोर निर्माण अघि बढाइरहेको छ । वाग्मती, धोबीखोला, नक्खु, विष्णुमती, मनोहरालगायतका नदीमा करिडोर निर्माण अघि बढाइरहेको छ ।

उपत्यकाकै बढी सवारी चाप रहेको सडकमा पर्ने जडीबुटीबाट कोटेश्वरको जाम कम गर्न विभिन्न विकल्प खोजिरहेको सडक विभागले करिडोर निर्माणलाई पनि विकल्पका रूपमा निर्माण अघि बढाएको हो । त्यससँगै विभागले कोटेश्वर–जडीबुटी सडकमा तीन लेन थप्ने गरी विस्तार गरिरहेको छ ।

सोही सडकको चाप कम गर्न मनोहरा करिडोर नै बेलिब्रिजबाट लोकन्थली पुलमुनि हुँदै पेप्सीकोलासम्म करिडोर निर्माणको योजना बनाइएको छ । आगामी आवमा पेप्सीकोला टाउनप्लानिङसम्म करिडोर निर्माण भएपछि सो खण्डको चाप अझै घट्ने अपेक्षा गरिएको छ ।