देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धार्मिक यात्राको राजनीतिक अर्थ

देशान्तर

 

‘म ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु,’ दोस्रोपटक प्रधानमन्त्री हुँदै गर्दा २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथमा केपी शर्मा ओलीले भने, ‘म देश र जनताका नाममा शपथ लिन्छु ।’ अर्थात् उनले ‘ईश्वर’ शब्द हटाएर शपथ लिए । 

२०७२ सालमा पहिलोपटक प्रधानमन्त्रीको शपथ लिँदा पनि ओलीले यस्तै गरेका थिए ।

भगवान्‌को साटो देश र जनताका नाममा शपथ खाएका उनै प्रधानमन्त्री ओली सोमबार सबेरै धर्मपत्नी राधिका शाक्य, सहयोगी र सुरक्षाकर्मीसहित पशुपतिनाथ मन्दिर गए, ईश्वरका नाममा सवा लाख दीप प्रज्वलन गरे र ‘विश्व शान्ति र राष्ट्र कल्याणको संकल्प पूजा’ गरे । उनले पशुपति क्षेत्रभित्र झन्डै एक घण्टा बिताएका थिए ।

ईश्वरका नाममा शपथसमेत नलिने साम्यवादी धङधङी बोकेका प्रधानमन्त्री ओली एकाएक पशुपतिमा ‘संकल्प पूजा’ गर्न किन गए होलान् ? जबकि गणतन्त्र प्राप्तिपछिका कुनै पनि बहालवाला प्रधानमन्त्रीले पशुपतिमा गएर संकल्प पूजा गरेका थिएनन् ।

अर्कातर्फ, उनै प्रधानमन्त्री ओलीले आफ्नो पूर्वमान्यताविपरीत शनिबार मात्रै माओवादी ‘जनयुद्ध’ का लडाकुहरूलाई भेटेर वर्गीय विभेद अन्त्यका लागि एकजुट हुनुपर्ने बताएका थिए । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल यी दुवै कुरामा त्यति धेरै अर्थ खोज्न नहुने बताउँछन् । ‘पशुपतिमा पुगेर प्रधानमन्त्रीज्यूले त्यहाँको निर्माणबारे जानकारी लिनुभएको हो,’ रिमालले भने, ‘लोकतान्त्रिक आन्दोलनका योद्धालाई सम्मान गर्ने सरकारको नीति नै हो, यसको अर्थ सिधा छ ।’

ओली हालको संविधानले मुलुकलाई धर्मनिरपेक्ष किटान गरेपछिका पहिलो प्रधानमन्त्री हुन् । छिमेकी भारतमा एउटा ठूलो धार्मिक समुदायलाई आकर्षित गर्ने उद्देश्यले धार्मिक राजनीति फस्टाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि मठ–मन्दिर जाने र पूजाआजा गर्ने चलन अरू बढाएका छन् । के त्यसैको सिको यता हुन थालेको हो ?

यहाँ पनि सीमापारिझैं धार्मिक जनमत आफूतिर तान्ने सिलसिला सरकार प्रमुखबाटै सुरु हुन लागेको हो ? कूटनीतिक मामिलाका जानकार निश्चलनाथ पाण्डे यसलाई सकारात्मक ठान्छन् । ‘भारतीय प्रधानमन्त्री पशुपतिमा गएर विशेष पूजा गर्न हुने र हाम्रा प्रधानमन्त्रीहरू पशुपति जाँदै नजाने गलत परम्परा आज (सोमबार) तोडियो,’ पाण्डेले प्रतिक्रिया दिए ।

प्रधानमन्त्री ओलीले यो ‘परम्परा’ तोड्ने काम सम्भवतः सोच–विचार गरेरै गरेका हुन् । पछिल्लो कालमा उनमा हिन्दु धर्म, संस्कृति र पूर्वीय दर्शनप्रति अतिरिक्त अनुराग बढेको देखिन्छ । उनी हुर्किएको कम्युनिस्ट राजनीतिको स्कुलिङ भने यसको विपरीत हो/थियो । उनी आफैंले पदीय शपथ लिँदा यो कुराको पुष्टि गरिसकेका छन् । विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम प्रधानमन्त्री ओली अचानक जान मन लागेर पशुपति नगएको टिप्पणी गर्छन् ।

‘राजनीतिज्ञका रूपमा हेर्दा हिन्दु धर्मावलम्बीहरूको ठूलो समूह छ, त्यसलाई भौतिक उपस्थितिले सम्बोधन गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई लागेको हुन सक्छ,’ गौतमले भने, ‘कम्युनिस्ट पार्टीका प्रधानमन्त्री पशुपति गएर संकल्प पूजा गरेको यो एउटा अनौठो घटना हो र यो सेन्सेटिभ कुरा पनि हो । यो घटनाबाट एक खालका मान्छेहरू खुसी भएका छन् ।’ कान्तिपुरमा खबर छ ।