देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कतारी प्रहरीमा भर्ना हुन भारतीय बाटो

देशान्तर

नेपाल सरकारको अनुमतिबिनै एजेन्टले कतारी प्रहरी सेवाका लागि अवैध रूपमा नेपाली युवा लैजान थालेका छन् । म्यानपावर कम्पनीसँगको मिलेमतोमा कतारी प्रतिनिधिले अन्तर्वार्ता लिई छनोट गरेका युवाले सरकारबाट श्रमस्वीकृति नपाएपछि उनीहरूलाई भारतीय बाटो हुँदै कतार लैजान थालिएको हो ।

फाइल तस्बिर : कतार प्रहरीमा भर्तीका लागि अन्तर्वार्ता दिन काठमाडौंको डीडी ओभरसिज प्रालिमा मंसिर ८ गते भेला भएका युवा

कतारले पहिलो चरणमा गत फागुनमा वैधानिक रूपमै १ सय ७९ जना युवालाई लगेको थियो । तर, दोस्रो चरणमा नेपालको सरकारी प्रक्रिया लत्याउँदै ३ सय युवालाई लैजान अवैध अन्तर्वार्ता लिएको थियो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कतार सरकारले नेपाललाई हेपेको बताए ।

‘युवालाई भारतीय बाटो हुँदै कतार धमाधम पठाइरहेको सूचना प्राप्त भइरहेको छ । यो सरासर गलत काम भयो । कतारले नेपाललाई हेप्यो,’ उनले कान्तिपुरसँग भने, ‘कतारबाटै श्रम सम्झौता उल्लंघन भयो । यसले हामीलाई निकै दुखित बनाएको छ ।’ विभागले अवैध रूपमा कतारी प्रहरी सेवामा जानेहरूको रेकर्ड राख्न थालेको जनाएको छ ।

भारतीय बाटो हुँदै कतार पठाउने कार्यमा अवैध अन्तर्वार्ता लिने म्यानपावर कम्पनी वा अरू नै एजेन्ट संलग्न रहेको बारे यकिन भइनसकेको दाहालले बताए । ‘अहिले सूचना संकलन र प्रमाण जुटाउने काम गरिरहेका छौं । यसमा संलग्न हुनेको खोजी भइरहेको छ,’ उनले भने, ‘एकातर्फ अनुमति नलिई अवैध अन्तर्वार्ता लिन आउने र अर्कोतर्फ नेपालको सहमतिविपरीत भिसा जारी गर्ने काम सही भएन ।’ वैदेशिक रोजगार ऐनमा मागपत्र प्रमाणीकरण भई अन्तर्वार्तामा छनोट भइसकेपछि मात्रै म्यानपावर कम्पनीको अनुरोधमा रोजगारदाताले भिसा जारी गर्ने व्यवस्था छ । कान्तिपुरमा खबर छ ।