देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जताततै भ्रष्टाचार छ, सुशासन सरकारको घोषणामै सीमित भयो : बामदेव गौतम

देशान्तर

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । आज (शुक्रबार) राष्ट्रिय सभा अन्तर्गतको दीगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलोपल्ट समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचारले सीमा नाघेको बताएका हुन् ।

देशमा भ्रष्टाचार समाप्त पार्ने सरकारको कुनै प्रभावकारी कदम नदेखिएको पनि उनले बताए । सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरे पनि घोषणा अनुसारको व्यवहारमा नदेखिएको उनले बताए । भ्रष्टाचार अन्त्यका निम्ति विभिन्न कानुन, नियमावली बनेको भए पनि सरकारले त्यसलाई कडाइका साथ लागू गर्न नसकेको बताए ।

‘प्रकृतिमा रहेका सबै प्राणिहरूको अन्तर्निहित सम्बन्ध नबिगारीकन विकास गर्नुपर्छ,’ उनले थपे, ‘त्यसो नगरिए वातावरणमा प्रतिकूल असर परी मानिसको आयु घट्दै जान्छ ।’ गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएको भन्दै विभेद अन्त्यका निम्ति आफ्नो योगदान रहने बताए । एक सदनलाई बढी अधिकार र अर्को सदनलाई कम अधिकार दिने अवस्थाको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सरकारले सन् २०२२ सम्ममा देशलाई विकासशील देशको सूचीमा राख्ने भनिएकोमा त्यसो गरिए राष्ट्रिय गौरवका आयोजना तथा विदेशबाट आउने सहायता बन्द हुने बताएका छन् ।

पछि निर्माण हुने सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्यले गरिएको हो कि भन्ने उनले आशंका व्यक्त गरे भने कुन आधारमा सन् २०२२ सम्म नेपाल विकासशील देश बन्ने हो भन्ने सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने बताए ।

रायमाझीले कोभिड १९ पछि बजार भाउ अत्यन्तै महंगिएको भन्दै बजार अनुगमन आवश्यक रहेको बताए । उनले सार्वजनिक यातायात सरकारले भने अनुरुप सञ्चालन भइरहेको छन् कि छैनन् त्यसको पनि अनुगमन गर्नुपर्ने बताए । मन्त्रालयहरुले आफ्नो भूमिका निर्वाह गरेका छन् कि छैनन् सम्बन्धित मन्त्रालयलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने उनको भनाई छ ।