देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रिमियर लिगमा सेफिल्डकाे पहिलाे जित, म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा

देशान्तर

बर्नलीलाई उसकै मैदानमा पराजित गरी म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

युनाइटेडले पूर्ण नियन्त्रणमा राखेको खेलमा बर्नलीले घरेलु मैदानमा खेल अवधिभर एकपल्ट पनि विपक्षी पोष्टमा आक्रमण गर्न सकेन । तर, ७१ औं मिनेटमा मार्कस राशफोर्डको पासमा पाउल पोग्वाले शानदार हाफ भली गोल गर्नुभन्दा अगाडिसम्म बर्नलीका खेलाडीहरु चलायमान देखिन्थे ।

फ्रान्सेली स्ट्राइकर पोग्वाले राशफोर्डको क्रसलाई आकर्षक रुपमा गोल गर्ने क्रममा बर्नलीका म्याथ्यू लटनको खुट्टामा लागेर डिफ्लेक्ट भएको थियो ।

बर्नलीले खेलमा तीन अवसरको सृजना गरेको थियो तर पोष्टमा आक्रमण गर्नै नपाइ युनाइटेडका डिफेन्डरहरु बाधक बने । युनाइटेडले १७ औं चरणमा अंकतालिकामा शीर्ष स्थान बक्जा गरेको हो ।

यो सन् २०१२ पछि नै युनाइटेडले शीर्ष स्थानमा पुगेको पहिलोपल्ट हो । युनाइटेडको तालिकामा ३६ अंक छ । समान १७ खेलमा ३३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ । बर्नली भने रेलिगेसन क्षेत्रबाट ५ अंक टाढा छ ।

गएराति नै भएको अर्को खेलमा शेफिल्ड युनाइटेडले न्यूकाशल युनाइटेडमाथि १–० गोलअन्तरको कठिन जित निकालेको । प्रिमियर लिगको पुछारमा रहेको शेफिल्डको सिजनमा यो पहिलो जित हो ।

पहिलो हाफको अन्तिम मिनेटमा न्यूकाशलका रान फ्राजर दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि शेफिल्डलाई केहि सहज भएको हो । फ्राजरले जोन फ्लेक र डेभिड गोल्डरिचमाथि तीन मिनेटको अन्तरमा फल गरेका थिए ।

खेल सकिनु १५ मिनेट बाँकी हुँदा शेफिल्डले पेनाल्टी पायो । न्यूकाशलका फेडेरिको फर्नान्डेजले बक्सभित्र हातले बल छोएपछि पाएको पेनाल्टीलाई बिल्ली सार्पले गोलमा परिणत गरे ।

यो जितपछि शेफिल्डले कीर्तिमानी २० खेलको जितबिहीन यात्रा पूर्णविराम लगाएको छ । यसअघि सन् २०१९–२० को सिजनमा गत जुलाई ११ मा चेल्सीमाथि ३–० को जित हासिल गरेयता शेफिल्ड जितका लागि संघर्षरत थियो ।

जारी सिजन उनीहरुले सुरुआती १७ खेलमा १५ हार र २ बराबरी खेले । यो प्रिमियर लिगकै सबैभन्दा खराव सुरुआत थियो । शेफिल्ड १८ खेलबाट ५ अंकसहित तालिकामा अन्तिममा छ । न्यूकाशलको १७ खेलबाट १९ अंक छ ।