देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सूर्यप्रसादलाई नेपाली कांग्रेसको संस्थापक नेता मान्न तयार छु– देउवा

देशान्तर

काठमाडौं । नेपाली काँग्रेसका संस्थापक, पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री स्व. सूर्यप्रसाद उपाध्याय माथि लेखिएको पुस्तक ‘चिन्तन’को आइतबार एक समारोहका बीच नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले विमोचन गरेका छन् ।

देउवा निवास बुढानिलकण्ठमा सम्पन्न भएको विमोचन समारोहका प्रमुख अतिथि देउवाले स्व. उपाध्याय नेपाली कांग्रेसको संस्थापक नेता भएकोमा कुनै विमति नरहेको बताउँदै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा उपाध्याय सम्मानका लागि उनको तस्बिर राख्ने प्रतिवद्धता जनाए । देउवाले नेता उपाध्याय नेपाली कांग्रेसको तत्कालिन नेताहरूको समूह ‘विग फोर’ मध्येका एक सदस्य भएको बताउँदै आफूले राजनीतिको प्रारम्भिककालमा उहाँबाट पर्याप्त सहयोग र सानिध्यता पाएको स्मरण गरे । आफूले विद्यार्थी नेतृत्व लिएर आन्दोलन गर्ने क्रममा उपाध्यायबाट सुझाव र आर्थिक सहयोगसमेत पाएको बताउँदै कांग्रेसलाई विचार र नेतृत्व प्रदान गर्ने कुरामा त्यसबखत उनको ठूलो योगदान रहेको उल्लेख गरे ।

त्यसैगरी बरिष्ठ नेता रामचन्द्र पौडेलले उपाध्याय कांग्रेसको बौद्धिक व्यक्तित्वका साथै विचारका हिसावले कांग्रेसको चाणक्य उपमा पाउने नेता भएको उल्लेख गरे । नेता उपाध्यायको राजनीतिक व्यक्तित्वमा धेरै उहापोह देखेकोले आफूले उनको बारेमा स्पष्ट धारणा बनाउन नसकेको बताए । उपाध्यायले नेतृत्व गर्दा आफूले उठबस गर्न नपाएपनि उनको विचार, लेखनलाई अध्ययन गर्दा साच्चिकै उनी बौद्धिक व्यक्तित्व रहेकोमा भने दुईमत नरहेको जनाए ।

नेता उपाध्यायसँग अत्यन्त नजिक रहेर काम गरेको बताउँदै नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले उनमा अद्वितीय बौद्धिक क्षमता, संगठन परिचालन गर्ने शक्ति तथा कार्यकर्तालाई माया गर्ने बानी रहेको सुनाए । विग फोर मध्ये आफू उनीद्वारै शिक्षित, दिक्षित र निर्देशित भएर पार्टीमा काम गरेको बताउँदा आफूलाई गौरव लाग्ने उनको कथन थियो । केसीले ठोकुवा गरे– “सूर्यप्रसाद उपाध्यायबाट शिक्षा, दिक्षा र भिक्षा नपाउने आफ्ना समकालिन कोहीपनि छैनन भन्ने मलाई लाग्दछ, त्यसैले बीपी, गणेशमान, सुवर्णशम्शेर जस्तै सूर्यप्रसादलाई पनि पार्टीले संस्थापक नेता मानेर पार्टी केन्द्रिय कार्यालयमा सम्मान दिनुपर्छ ।”

त्यसैगरी व्यापारी एवं निवर्तमान सांसद् दिव्यमणि राजभण्डारीले आफू नेता उपाध्यायकै छत्रछायाँमा हुर्किएको बताउँदै आफ्ना पिता स्व. इन्द्रमणि राजभण्डारी नेता उपाध्यायको सहयोगी रहेकोसमेत जानकारी दिए । त्यसैले तत्कालिन अवस्थामा नेतृत्व गर्ने युवाहरु सबै सूर्यप्रसाद उपाध्यायसँग विचार र सहयोग लिने गरेको आफू प्रत्यक्षदर्शी भएको स्पष्ट पारे । उनले पनि सूर्यप्रसाद उपाध्यायलाई नेपाली कांग्रेसले बीपी, गणेशमान, सर्वणशम्शेर जत्तिकै सम्मान दिनुपर्ने कुरामा जोड दिए ।

प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित ‘चिन्तन : सूर्यप्रसाद उपाध्याय’ विमोचनमा समाजका बरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने समाजका अध्यक्ष डा. केदारनरसिंह केसीले स्मारिका प्रकाशनको उद्देश्य, प्रकाशन गर्दा भएका कठिनाई, लेख र अन्य सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्दै चिन्तनको छैठो संस्करणमा उपाध्यायलाई समेट्न पाउँदा आफू ज्यादै हर्षित भएको बताए । उनले समाजले भविष्यमा अन्य नेताको विशेषांक प्रकाशित गर्ने योजना पनि सुनाए । लेखकको तर्फबाट राजनीतिक विश्लेषक लोकेश ढकालले कृतिको बारेमा समीक्षा गरेका थिए भने कार्यक्रमलाई महासचिव गोकर्णप्रसाद अर्यालले संचालन गरेका थिए ।
प्रजातान्त्रिक विचार समाजको नियमित वैचारिक प्रकाशन चिन्तनको ‘सूर्यप्रसाद उपाध्याय विशेष’ मा राजनीतिज्ञ, प्राध्यापक, शिक्षक, पत्रकार, लेखक लगायत सामाजिक जीवनका विभिन्न क्षेत्रका ६४ व्यक्तित्वको लेख समावेश गरिएको छ ।

सो कार्यक्रममा प्रतिनिधिसभा विघटन र पुनस्र्थापनाको आन्दोलनको बारेमा विगतमा झैं नेपाली कांग्रेसका सभापति देउवा र बरिष्ठ नेता पौडेलबीच चर्काचर्की परेको थियो । पौडेल पुनस्र्थापनाको माग गर्दै आन्दोलनमा जानुपर्ने पक्षमा उभिएका थिए भने देउवा अदालतमा विचाराधिन मुद्दा भएकोले आन्दोलन मात्र गर्नुपर्ने पक्षमा उभिए ।