देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरी नियन्त्रणबाट बाहिर आएपछि पौडेलले भने- ‘लोकतन्त्र अपमानित भएको छ’

देशान्तर

काठमाडौं । प्रहरी नियन्त्रणबाट रिहा भएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र अपमानित भएको बताएका छन् । आफूलाई लाठीले पेलेर बोल्नै नसक्ने बनाएको भन्दै नेता पौडेलले यो हर्कतले लोकतन्त्र अपमानित भएको बताएका हुन् ।

‘जे भइरहेको छ । यसको देशभर विरोध भइरहेको छ,’ उनले कार्यकर्ता र सञ्चारकर्मीहरुलाई संबोधन गर्दै भनेका छन् । वरिष्ठ नेता पौडेलसँगै कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । पुलको उद्घाटन गर्न जाने क्रममा तालघारीबाट पौडेलसहितका नेतालाई फिर्ता गरेर सदरमुकाम ल्याइएको थियो । पौडेललाई प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिइएको थियो । पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका थिए ।

झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेको भन्दै निषेधाज्ञा जारी गरेको बताएका थिए ।
व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको उद्घाटन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भनेपछि विवाद सुरु भएको थियो ।
पौडेल पक्राउ परेपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।

थप कार्यक्रम सार्वजनिक गरिने
नेपाली काङ्ग्रेस तनहुँले घटनाको विरोध गर्दै बिहीबार बिहान ११ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको छ । काङ्ग्रेस जिल्ला कार्यवाहक सभापति आलेले घटनाको निन्दा गर्दै आन्दोलन शुरु गरिने घोषणा गरे ।

आज अपराह्न प्रहरीसँग भएको झडपमा संविधानसभाका तत्कालीन सदस्य रामचन्द्र पौडेल, जिल्ला सचिव लक्ष्मी आचार्य, नेपाल ट्रेड युनियन काङ्ग्रेसका अध्यक्ष सूर्यचन्द्र हड्खले, नेपाल महिला सङ्घका सभापति पवित्रा पौडेल र महासमिति सदस्य रामचन्द्र अधिकारी घाइते भएको काङ्ग्रेसले जनाएको छ ।