देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपाको सचिवालय वैठक, प्रधानमन्त्री ओली सहभागी नहुने !

देशान्तर

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने बताइएको छ ।

हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्दै उनले आजको बैठकमा सहभागी नहुने जानकारी गराएका थिए । बैठकमा हिजोदेखि दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ ।

मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो । बैठकमा अध्यक्षद्वयले आ–आफ्नो धारणा राखेपछि औपचारिक छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक छलफल पनि हुने उनले बताए । यस्तै स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै हुने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । यसअघि नै मंसिर १८ गते अर्थात भोलिका लागि बैठकको मिति तय भएको पूर्वनिर्धारित मितिमै बैठक बस्ने उनको भनाइ छ । कार्यकारी अध्यक्षको प्रस्तावलाई लिएर ओली असन्तुष्ट बनेका छन् ।

प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको औचित्य नभएको ओलीले बताउँदै आएका छन् भने प्रस्तावबारे निर्णय गर्ने अधिकार पार्टी बैठकको रहेकोले फिर्ता नगर्ने अडान प्रचण्डको छ । सबै समस्याको समाधान बैठकमार्फत खोज्नुपर्नेमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल,बामदेव गौतमलगायत सचिवालय सदस्यहरुको अडान रहेको छ ।