देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शुल्क उठाउन नपाउने भएपछि एटीएम व्यवस्थापनमा लापरबाही!

देशान्तर

एउटा बैंकले जारी गरेको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लिन नपाउने व्यवस्थापछि एटीएम व्यवस्थापनमा लापरबाही हुन थालेको छ ।

केही बैंक तथा वित्तीय संस्थाले एटीएम मेसिनमा पर्याप्त पैसा नराखेको र मर्मत सम्भारमा पनि ध्यान दिन छाडेका छन् । एटीएम कारोबारबाट शुल्क उठाउन नपाउने भएपछि त्यसको व्यवस्थापन कम प्राथमिकतामा परेको बैंकरहरू बताउँछन् ।

एटीएम व्यवस्थापनमा बैंकहरूको लापरबाहीबारे राष्ट्र बैंक पनि जानकार छ । यस विषयमा राष्ट्र बैंकमा थुप्रै उजुरी परेका छन् । ‘पर्याप्त पैसा नराखेको र समयमा मर्मतसम्भार नभएको सम्बन्धमा केही उजुरी छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘उजुरीउपर छलफल भइरहेको छ ।’ छिट्टै जारी हुन लागेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यो विषय समेटिने सम्भावना रहेको ती अधिकारीले बताए ।

एटीएम व्यवस्थापनबारे गुनासो आएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले पनि स्विकारे । कोभिड–१९ को बढ्दो संक्रमणका कारण सरकारले गरेको लकडाउनलाई लक्ष्य गरी एटीएम कारोबार निःशुल्क बनाइएकाले बैंक तथा वित्तीय संस्थाले त्यसलाई बेवास्ता गर्न नहुने उनले बताए । ‘अप्ठ्यारो परिस्थितिमा एटीएमकै कारण बैंकको काउन्टरमा ग्राहकको भीड कम भएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले एटीएम व्यवस्थापनमा लापरबाही गनुहुन्न ।’

बैंकले अल्पकाल नभई दीर्घकाललाई हेरेर एटीएमको व्यवस्थापन चुस्त बनाउनुपर्ने उनको सुझाव छ । ‘निःशुल्क पाउने सेवा (फ्री राइडर) को गुणस्तरमा कमी आउनु, प्रयोगमा लापरबाही हुनु अर्थशास्त्रीय सिद्धान्त नै हो,’ उनले थपे, ‘अहिले एटीएम व्यवस्थापनमा पनि त्यही भएको देखिन्छ । तर बैंकले ग्राहकप्रति विश्वासनीयता जगाउन सक्नुपर्छ ।’ अहिले राम्रो सेवा दिएर विश्वासनीयता कायम गर्न सके भविष्यमा सोही बैंकलाई नै फाइदा पुग्ने उनको भनाइ छ । कान्तिपुरमा खबर छ ।