देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारद्धारा ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अस्वीकार

देशान्तर

काठमाडौँ – नेपाल सरकारले भ्रष्टाचारविरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले हालै सार्बजनिक गरेको प्रतिवेदन अस्वीकार गरेको छ । सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले  देशकै छबि धमिलो बनाएको ठहर गर्दै सरकारले सो रिपोर्ट अस्वीकार गरेको बताएका छन् ।

रिपोर्ट बारे सरकारको धारणा सार्बजनिक गर्दै मन्त्री गुरुङले ट्रान्सपरेन्सी इन्टरनेसनलका प्रमुखको दलीय संलग्नताले पनि सो रिपोर्ट पूर्वाग्रहपूर्ण भएको सरकारको ठहर रहेको बताएका छन् । सरकारले यो प्रतिवेदन प्रति असहमति र अस्वीकार गर्ने तथ्य तथ्यांकले पनि यो कुरालाई पुष्टि गर्ने सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्व सूचांकले नेपालको अवस्था सुधार भएको देखिएको भएपनि यो रिपोर्टमा पूर्वाग्रह राखेर सरकारको गलत छबि देखाएको सरकारले आफ्नो धारणा व्यक्त गरेको छ ।पछिल्लो समय जनतालाई व्यवस्था प्रतिनै भड्काउने गतिविधि भएको भन्दै सरकार यसमा सचेत रहेको उल्लेख गरिएको छ । भ्रष्टाचारविरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाल एसियाकै भ्रष्ट मुलुक र प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षण गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

ग्लोबल करप्सन ब्यारोमिटर एसियाको रिपोर्टमा नेपालका ५० प्रतिशत नागरिकले प्रधानमन्त्रीकै संरक्षणमा भ्रष्टाचार हुने गरेको दाबी गरेको उल्लेख गरिएको थियो । एसियाका १७ देशमा गरिएको सर्वेक्षणमा ५८ प्रतिशत नेपालीले विगत एक वर्षमा भ्रष्टाचार पहिलाभन्दा झनै बढेको बताएको ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया रिपोर्टमा उल्लेख थियो ।