देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बायर्न म्युनिख बुन्डेस लिगाको शीर्ष स्थानमा यथावत

देशान्तर

स्टुटगार्टमाथि ३–१ गोलअन्तरको पुनरागमन जित निकाल्दै साविक विजेता बायर्न म्यूनिखले जर्मन बुन्डेसलिगामा शीर्ष स्थानमा २ अंकको अग्रता यथावत राखेको छ ।

अर्कोतर्फ बोरुशिया डर्टमन्ड भने रेलिगेसन जोनमा रहेको कोल्नसँग पराजित भएको छ ।

खेलको २० औं मिनेटमै काउन्टर एट्याकमार्फत गोल गरी स्टुटगार्टले अग्रता बनाएको थियो । घरेलु टोलीका लागि सिलास वमानगितुकाको लो क्रसमा लास्सलाना कोउलीबेलीले गोल गरेका हुन् ।
तर ३८औं मिनेटमा किंग्सले कोम्यानले बराबरी गोल फर्काए भने रोर्वट लेवान्डोस्कीले इन्ज्यूरी समयमा गोल गरी पहिलो हाफमा २–१ को अग्रता दिलाए ।
युभेन्टसबाट लोनमा आएका डग्लास कोस्टाले बार्यनका लागि तेस्रो तथा निर्णायक गोल गरेका हुन् ।

बायर्न म्यूनिखका सुपरस्टार स्ट्राइकर रोर्वट लेवान्डोस्कीले जारी सिजन ८ खेलमा १२ गोल र ४ असिस्ट गरेका छन् ।

बायर्न ९ खेलबाट २२ अंकसहित दोस्रो स्थानको आरबी लेइपजिगभन्दा २ अंकले अगाडि छ । लेइपजिगले गएराति नै रेलिगेसन जोनमा रहेको अर्मिनिया बेलिफिल्डाथि २-१ को जित हासिल गरेको थियो ।

यता बोरुसिया डर्टमन्ड भने कोल्नसँग आफ्नै मैदानमा २(१ ले पराजित भएपछि लिगको तेस्रो स्थानमा झरेको छ । उसलाई दोस्रो स्थानमा १ अंकको अन्तर कायम राख्ने अवसर थियो ।

इलिस खिरीले २ गोल गरेर पाहुना टोली कोल्नलाई अग्रता दिलाएपछि डर्टमन्डले खेलमा फर्कनै सकेन । कोल्नका लागि भने यो ऐतिहासिक जित थियो । जारी सिजन पहिलो जितमात्र होइन पछिल्लो १८ खेलमा उसको पहिलो जित हो ।
ट्युनिसियाका मिडफिल्डर खिरीले नवौं मिनेटमा पहिलो गोल गरेका थिए । ६० औं मिनेटमा अर्को गोल थपे । डर्टमन्डका लागि थोर्गान हाजार्डले सान्त्वना गोल फर्काए ।