देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बलात्कार लुकाउन एक तोला सुनको ‘तमसुक’

देशान्तर

बैतडीकाे सिगास गाउँपालिकामा एक किशोरीलाई बलात्कारपछि गर्भपतन गराएको घटना एक तोला सुन दिने ‘तमसुक’ बनाएर मिलाएको खुलेको छ । घटनाको सात महिनापछि पीडित किशोरी न्याय माग्दै जिल्ला प्रहरी कार्यालय पुगेकी छन् । बिहीबार ती किशोरी आफ्नी दिदी र नन्दसँग प्रहरी कार्यालय गएकी हुन् ।

सिगासकी १८ वर्षीया ती किशोरीले गत जेठ २३ मा गाउँकै २२ वर्षीय युवकबाट आफू बलात्कृत भएको बताएकी छन् । ११ कक्षा पढिरहेकी उनी बिहान ४ बजे घरबाट करिब एक घण्टा टाढाको कुवामा पानी भर्न गएका बेला छिमेकी दीपक धामी (दाइको छोरा भदु नाता पर्ने) बाट बलात्कृत भएको ती किशोरीको आरोप छ । ‘कुवाबाट ४० लिटरको जर्किनमा पानी भरेर फर्किन लागेकी थिएँ, घर नजिकै बाटो ढुकेर बसेको रहेछ, एक्कासि शरीरमा हाम फाल्यो,’ बिहीबार जिल्ला प्रहरी कार्यालयमा ती किशोरीले भनिन्, ‘सुनसान ठाउँमा एक्लै भएकाले मेरै सलले मुख छोपेर १५ मिनेट पर जंगलमा लगेर बलात्कार गर्‍यो ।’ घटनापछि अर्धबेहोस अवस्थामै मूल बाटामा निस्किएर जसोतसो घर पुगेको उनले बताइन् । ती युवकले हल्ला गरे वा कसैलाई भने मारिदिने धम्की दिएकाले कसैलाई भन्न नसकेको उनको भनाइ छ ।

जबर्जस्ती करणीबाट गर्भवती भएकी किशोरीले औषधि खाएर गर्भपतन गराएपछि परिवार र गाउँलेले थाहा पाएका थिए । गाउँमा सबैलाई थाहा भएपछि स्थानीय अगुवाले युवकबाट एक तोला सुन भराउने तमसुक बनाएर घटना सामसुम पारेका थिए । महिनावारी रोकिएको परिवार र गाउँमा थाहा भएपछि ती युवकले नै गर्भपतन गराउने औषधि ल्याएर दिएको उनले बताइन् । ‘बलात्कार गर्ने केटाले दिएको औषधि असार ८ गते खाएपछि धेरै रगत बग्दा घरमा परिवार र छिमेकी सबैले थाहा पाए,’ ती किशोरीले भनिन्, ‘अनि केटासँगै उसलाई सहयोग गर्ने गाउँकै शिक्षक, गाउँपालिकामा कार्यरत कर्मचारी र गाउँकै नेताले मिल्नुपर्छ भनेर एक तोला सुन दिने कागज बनाए ।’

तमसुकमा उल्लेख गरिएको म्यादसम्म सुन नदिएपछि घटना बाहिरिएको हो । ‘अरूलाई भने मारिदिन्छु भनेकाले प्रहरीलाई भन्न सकिनँ तर अहिलेसम्म न सुन दियो न केही, उल्टै डर र धम्की दिन्छ,’ ती किशोरीले भनिन् । कान्तिपुरमा खबर छ ।