देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दक्षिणपन्थी सलबलाहट बढ्याे

देशान्तर

पोखरा र जनकपुरमा बुधबार एकै दिन राजतन्त्रको पक्ष र संघीयताको विरोध गर्दै सडक प्रदर्शन भए । पोखराको प्रदर्शनमा ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ र जनकपुरको प्रदर्शनमा ‘नेपाल राष्ट्रवादी समूह’ को ब्यानर थियो ।

पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाहको तस्बिर अंकित टि–सर्ट लगाएर र राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा निस्केकाहरूको मुख्य माग थियो– राजतन्त्र फर्काउने, हिन्दु राज्य कायम गर्ने र संघीयता खारेज गर्ने ।

जनकपुर र पोखराकै जस्ता नारा र मागसहित गत मंसिर ४ मा कैलालीको धनगढीमा केही ठूलो प्रदर्शन भयो । ‘स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम’ को ब्यानरमा भएको मोटरसाइकल र्‍यालीलाई धनगढीमा राजतन्त्रवादीहरूको शक्ति प्रदर्शनका रूपमा हेरिएको थियो । उक्त र्‍यालीमा पनि राजतन्त्र पुनर्बहाली र हिन्दु राष्ट्र स्थापनाकै चर्का नारा लागे ।

धनगढीको प्रदर्शनको एक साताअघि बर्दियामा उस्तै प्रकृतिको मोटरसाइकल र्‍याली भएको थियो । त्यहाँ ‘वीर गोर्खाली र स्वतन्त्र राष्ट्रवादी अभियान’ को ब्यानर थियो । उक्त प्रदर्शनमा– राजा आऊ देश बचाऊ, गणतन्त्र धोका हो, गणतन्त्र बाईबाईजस्ता संविधानका मूल विशेषतामाथि नै प्रश्न उठाउने गरी नाराबाजी भए ।

पछिल्लो महिनाका घटनाक्रम हेर्ने हो भने दक्षिणपन्थी एजेन्डा बोकेर व्यवस्था उल्टाउने नाराबाजी गर्दै हिँड्नेहरूको सलबलाहट काठमाडौं र मुलुकका पूर्वी भेगमा पनि उस्तै छ । गत कात्तिक २७ गते विराटनगरमा राजावादी समूहहरूको त्यस्तै जुलुस प्रदर्शन भयो । बजारका सबै मुख्य सडक परिक्रमा गरेको जुलुसमा २०७२ को संविधान खारेज गरी २०४७ को संविधान लागू गर्नुपर्ने माग थियो ।

विराटनगरमा प्रदर्शन भएको दुई दिनअघि कात्तिक २५ गते राजधानी काठमाडौंको जमलमा ‘राष्ट्रवादी नागरिक समाज’ को नाममा भ्रष्टाचार अन्त्य गर, हत्या, हिंसा र बलात्कार घटनाका दोषीलाई कारबाही गर भन्दै प्रदर्शन भयो । उक्त प्रदर्शनमा सामाजिक विकृति र भ्रष्टाचारका कुरा उठाइए पनि मूल नाराचाहिँ राजतन्त्र स्थापना गर भन्ने नै थियो । कान्तिपुर दैनिकमा खबर छ ।