देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अनुसन्धानका नाममा ‘प्रहरी आतंक’

देशान्तर

प्रहरीले बालक हत्याको अनुसन्धानका नाममा स्थानीयलाई जथाभाबी पक्राउ गर्न थालेपछि डुडवा गाउँपालिका–३, वनकट्वामा अहिले त्रास बढेको छ । ‘प्रहरी रोज गाउँ आउँछ अनि जसलाई भेट्यो, उसैलाई पक्राउ गरेर लैजान्छ,’ प्रहरी हिरासतमा रहेका २१ वर्षीय अजय सोनीकी आमा ललिताले रुँदै भनिन्, ‘मेरो छोरालाई पनि बिनाकारण पक्राउ गरेर हिरासतभित्रै राखेको छ । प्रहरीले गाउँमा असाध्यै ज्यादती गरिरहेको छ ।’

अधिकारवादी र पत्रकारहरूको टोली शनिबार गाउँ पुग्दा स्थानीय आफ्ना गुनासा सुनाउन तँछाडमछाड गरिरहेका थिए । उनीहरूले प्रहरीले ज्यादती गरेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । ‘गाउँमा दुई जनालाई गुमाएका छौं, उल्टो प्रहरीले पक्राउ गरेर दुःख दिइरहेको छ,’ ललिताले भनिन् । वनकट्वाका १० वर्षीय सुनील हरिजन रैदासको कात्तिक १० गते बीभत्स हत्या भएपछि वनकट्वा गाउँ शोकमग्न थियो । छिमेकमा रुवाबासी चल्यो ।

हत्या गरिएका बालकका काका रामकुमार हरिजनले आफूहरूले न्याय खोजेको तर कसैलाई फसाउन नखोजेको बताए । हरिजन सरकारी इन्जिनियर हुन् । उनले बालक हत्याको किटानी जाहेरी नदिएको तर न्याय पाउनुपर्ने जनाए । ‘हामीले न्याय पाउनुपर्छ । यति हो,’ उनले भने ।
बालक हत्यापछि उजुरी नपरे पनि प्रहरीले भोलिपल्टै छानबिन सुरु गर्‍यो ।

त्यही क्रममा सुनीलको घरदेखि १० मिटर दूरीमा रहेका अन्दाजी ३६ वर्षीय बाबुलाल रैदाससहित १८ जना स्थानीयलाई प्रहरीले हिरासतमा लियो । एक सातापछि १५ जनालाई दैनिक प्रहरी कार्यालयमा हाजिर हुने गरी छाडियो । बाबुलाल, १३ वर्षीय विजय खटिक र २१ वर्षीय अजय सोनीलाई भने हिरासतमै राखियो ।

उनीहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा मुद्दा लगायो । हत्या आरोपमा पक्राउ परेका व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरी अदालतमा मुद्दा दर्ता गर्नुपर्नेमा उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाटै अभद्र व्यवहारको मुद्दामा अल्झाइयो । अभद्र व्यवहारको मुद्दा चलाइएका व्यक्तिलाई २४ दिनभन्दा बढी हिरासतमा राख्न नपाइने भए पनि प्रहरीले त्योभन्दा बढी समय थुनामा राखेको छ । कान्तिपुर दैनिकमा खबर छ ।