देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौँमा खसी बजारको अनुगमन : निरोगी खसी-बोकाको सिङ्मा हरियो रङ्ग लगाइयो

देशान्तर

काठमाडौं – दशैका लागि काठमाडौं ल्याइएका निरोगी खसी—बोका, भेडा—च्याङ्ग्राको सिङ्मा हरियो रङ्ग लगाउन सुरु गरिएको छ । काठमाडौं महानगरको पशु सेवा महाशाखाले शनिबारबाट टुकुचा र कलंकीबाट थालेको मासुजन्य खाद्य उत्पादनको निरीक्षण अनुगमनका क्रममा चौपायाको स्वास्थ्य जाँच गरेर निरोगीको सिङमा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउन थालेको हो ।

पर्वमा बिक्री वितरण हुने स्वस्थ्य, स्वच्छ माछामासुजन्य खाद्य उत्पादनको उपभोग र बजारीकरण तथा मासुको स्रोतका रुपमा प्रयोग हुने चौपायाको व्यापार र बजारीकरणमा सहज होस् भनेर हामीले निरीक्षण, अनुगमनको काम थालेको हो । महाशाखाका प्रमुख डा. अवधेश झा भन्छन्  — ‘उपभोक्तालाई स्वस्थ्य चौपाया चिन्न सजिलो होस् भनेर हामीले संकेतका रुपमा रङ्गको प्रयोग गरेका हौं । खसी, बोका, भेडा, च्याङ्ग्राको सिङ्मा हरियो रङ्ग छ भने त्यो निरोगी हो । किनेर लान वा त्यसको मासु खान हुन्छ । यदि रातो रङ्ग छ भने त्यो रोगी हो । त्यसलाई किनेर लान वा त्यसको मासु खान हुँदैन ।’

डा. झाका अनुसार बजारमा आएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए-नआएको, नाकबाट सिँगान बगे-नबगेको, झोक्राएको-नझोक्राएको, पातलो दिशा भए-नभएको, चोटपटक भए-नभएको जस्ता सामान्य स्वास्थ्य अवस्थाका बिषयमा पशुचिकित्सकले परीक्षण गरेपछि सिङ्मा रङ्ग लगाउने गरिन्छ । बजारमा पुगेपछि हामी यति मात्र हेर्दैनौं, महाशाखा प्रमुख डा. झा थप्दै भन्छन् — ‘पशु ढुवानी मापदण्ड पालना गरे-नगरेको, खरिद बिक्री बिलको प्रयोग भए-नभएको, बिक्रीका लागि ल्याइएका चौपायाको बासस्थान उचित भए-नभएको पनि हेर्छौं ।

बजार अनुगमनको अहिले थालनी हो । त्यसैले शुरुवात्मा सुधारका लागि सुझाव दिन्छौं । हाम्रो नियमित अनुगमनको क्रममा दिइएका सुझावको पालना गरेको पाइएन भने कारवाहीको प्रक्रियामा पनि जानुपर्ने हुन सक्छ । यसका लागि हामीले संघ र प्रदेश सरकार तथा अन्य साझेदारलाई बजार अनुगमनका क्रममा सँगै लिएर जान्छौं ।’

शनिबार टुकुचा र कलंकी खसी बजारमा भएका चौपायाको स्वास्थ्य जाँच र सिङ्मा रातो लगाउने काम भएको छ । महाशाखाका पशु विकास अधिकृत डम्मरबहादुर बम भन्छन्  — ‘आज सामान्य स्वास्थ्य अवस्था खराव देखिएका २ वटा खसी भेटिए । तिनीहरुलाई अलग राखेर उपचार गर्न व्यापारीलाई भनेका छौं । उपचार गरेर निको नहुञ्जेल तिनीहरु बिक्रीका लागि अयोग्य हुन् । त्यसैले तिनीहरुको बिक्री रोक्का गरिएको छ । उपचार गरेर निको भएपछि तिनीहरुलाई पनि बेचबिखन गर्न सकिन्छ ।’

महाशाखाले चौपाया बजारमा जानकारीमुलक सामाग्री टाँस्दै, माछामासुजन्य खाद्यबस्तुको उत्पादनलाई गुणस्तरीय बनाउन र कोभिड १९ को सम्भावित संक्रमणबाट जोगिन अनुरोध गरेको छ । उक्त अनुरोधमा भनिएको छ — ‘रोगी पशुपन्छीको ओसार पसार, नगरौं, महानगरले तोकेको ठाउँमा मात्र चौपायाको बिक्री वितरण गरौं । स्वस्थ्यताको चिनो (हरियो रङ्ग) भएका चौपाया मात्र खरिद गरौं । मासु चिसोमा राखौं । राम्ररी पकाएर मात्र खाऔं ।’